समायोजनको फारम भरेका कर्मचारीको फारम रुजु गर्ने काम सुरु

एक हप्तााभित्र सबै कर्मचारीको विवरण तयार हुने ।

 माघ ६, २०७५ आइतबार १५:३१:५८ | उज्यालो सहकर्मी

काठमाण्डाै - समायोजनको फारम भरेका कर्मचारीको विवरण रुजु गर्ने काम सुरु भएको छ ।

समायोजन संरचनाको दरबन्दी अनुसार विवरण भिडाउने र रुजु गर्ने काम सुरु भएको हो । फारम भरेका कर्मचारीको दरबन्दी भिडाउने, रुजु गर्ने, जेष्ठताको सूची बनाउने, गुनासो लिने लगायतका कामका लागि १२ वटा समूह बनाइएको छ ।

यो समूहले काम सुरु गरिसकेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाले जनाएको छ । कर्मचारी समायोजन अध्यादेशमा उल्लेख भए अनुसारका सेवा सञ्चालन गर्ने निकायले पनि आवश्यक विवरण लिनेगरी काम थालेका महाशाखाका उपसचिव अनिता निरौलाले उज्यालोलाई बताउनुभयो ।

एक हप्ताभित्र सबै कर्मचारीको विवरण तयार हुने

उहाँका अनुसार एक हप्ताभित्र सबै कर्मचारीको विवरण तयार हुनेछ । संघमा समायोजन हुने परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका कर्मचारीका हकमा सम्बन्धित मन्त्रालयले एक हप्ताभित्र नै समायोजन सक्नेछ ।

संसद् सचिवालय, परराष्ट्र, लेखापरीक्षण र न्याय सेवाका झण्डै ४ हजार कर्मचारी संघमा नै समायोजन हुनेछन् । उनीहरुलाई ७ दिनभित्र पत्र दिन भनिएको छ ।

समायोजनका आवश्यक प्रकृया चरणबद्ध रुपमा सक्नेगरी काम थालिएको पनि निरौलाले बताउनुभयो । पहिलो चरणमा मुख्यसचिव र विशिष्ट श्रेणीका कर्मचारीको समायोजन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  

समायोजनका लागि ७५ हजार ३ सय ६७ सरकारी कर्मचारीले फारम भरेका छन् । संघ, प्रदेश र स्थानीय तहको संरचना अनुसार कर्मचारीको दरबन्दी कायम गरिएको छ । संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम भएको हो । कर्मचारीले तीनवटै तह रोजेर अनलाइन फारम भरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया