कपुरकोट गाउँपालिकाले ल्यायो ‘कृषि कपुरकोट’ नामक मोबाइल एप्लिकेसन

 माघ ७, २०७५ सोमबार ११:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – कपुरकोट गाउँपालिकाले आफ्नै कृषि मोबाइल एपमार्फत किसानहरुलाई सेवा दिन सुरु गरेको छ । ‘कृषि कपुरकोट’ नामक मोबाइल एप्लिकेसन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधिसम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।

कृषकहरु लामो समय इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको ठाउँबाट आफ्नाे स्मार्टफाेनमा एकपटक यो एप डाउनलोड गरी इन्स्टल गरेपछि अफलाइन सेवामार्फत घरमै बसेर विविध जानकारी लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिनुभययो । 

एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना/समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नम्बर तथा विज्ञ विवरणसमेत उपलब्ध रहेका छन् । 

‘किसानले आफ्ना समस्या मोबाइल एप्सबाटै कृषि विज्ञलाई च्याटमार्फत राख्न तथा फोन गरेर सोध्न सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भन्नुभयो, ‘कपुरकोट क्षेत्रको कृषिलाई माथि उठाउन यो एप्लिकेसनले ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको छ । 

सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसँगै किसानको हातहातमै सूचना पुर्‍याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्लिकेसन सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानका लागि यो एउटा महत्वपूर्ण एप्लिकेसन हो ।’ 

कृषकलाई प्रविधिसँग जोड्न ल्याइएको यस एपमा किसानले कुनै समस्यामाथि प्रश्न पठाए उत्तर पनि दिने भएको हुँदा किसानलाई कृषि काममा सहज पुग्ने कपुरकोट गाउँपालिकाको अपेक्षा छ । कृषि साथीको रुपमा आएको यस एपलाई प्रयोग गरेर किसानहरुले प्रविधिको विकाससँगै आफूलाई पनि अपडेट गर्नुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेलले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया