क्षमता छ भने विपी मार्ग खारेज गरेर केपी ओली मार्ग बनाएर देखाइयोस् : गच्छदार

 माघ ७, २०७५ सोमबार १३:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाउमा स्थापना भएको स्वास्थ्य संस्था सरकारले खारेज गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै गच्छदारले कांग्रेसका नेताहरुको नाममा स्थापना गरिएको स्वास्थ्य संस्था खारेज गर्न खोज्नु सरकारको पूर्वाग्रही नियत देखिएको दाबी गर्नुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि संसदलाई सम्बोधन गर्दा पनि यसबारेमा सकारात्मक निर्णय हुने भनेर बोलेको कुरा अहिले आउँदा झुटो सावित भएको भन्दै उहाँले प्रधानमन्त्री आफैँले बोलेको कुरा झुटो हुन्छ भने सरकार प्रति नागरिकले कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो ।

नेपाली कांग्रेसका नेताहरुको नाममा स्थापना भएका सबै संरचना खारेज गर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापना भएको विपी राजमार्ग खारेज गरेर देखाउन सरकारलाई चुनौती दिनुभयो ।

‘दुई तिहाइको अहंकारमा जे पनि गर्दा हुन्छ भन्ने मानसिकता होला’ उहाँले भन्नुभयो, सरकारसँग क्षमता छ भने विपी मार्ग खारेज गरेर देखाओस् अनि सक्नुहुन्छ भने त्यसलाई केपी शर्मा ओली मार्ग बनाएर देखाइयोस् ।'

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको स्वास्थ्य संस्थाको अस्तित्व कायम राख्न ठोस आदेश नभएसम्म सदनको कुनै पनि कारवाही अघि बढ्न नसक्ने बताउनुभयो ।

गच्छदारले बोल्नुभए लगत्तै कांग्रेस सांसदहरुले उठेर सदनको कारवाही बहिष्कार गरेका छन् । कांग्रेस सांसदको विरोधका कारण संसदको सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया