डा. गोविन्द केसीको विरुद्धमा अनसन बस्ने थापा को हुन् ?

 माघ ७, २०७५ सोमबार १४:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आफूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै डा.गोविन्द केसी १२ दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । पुस २५ गतेदेखि डा.केसीले १६ औँ अनसन थाल्नु भएको हो । डा. केसीको अनसन विरुद्ध एक युवा पनि अनसन बसिरहेका छन् । 

केसीले १६ औं अनसन इलाममा सुरु गर्नुभएको थियो । डा.केसीलाई चुनौती दिँदै ओखलढुंगाका युवा विजय थापाले पनि डा.केसीले अनसन थालेको दोस्रो दिनमा इलाममै गएर अनसन सुरु गर्नुभयो । ‘निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका निम्ति संयुक्त सङ्घर्ष समिति’ को नाममा थापा अनसन बस्नुभएको हो ।

हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने सहित ९ बुँदे माग थापाले अगाडि सार्नुभएको छ ।  

काठमाण्डौ उपत्यका बाहिर देशैभरि मेडिकल कलेज खोल्ने वातावरण बनाउनु पर्ने, एमडी तथा पीजी कक्षाको कोटा कम्तीमा १ हजार ५ सय पु¥याउनुपर्ने, सरकारी तलब खाएर राजनीति गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेलगायत माग उहाँको छ ।

त्यस्तै उच्च शिक्षा नेपालमै निःशुल्क अध्ययन गर्ने वातावरण बनाई शिक्षा र स्वास्थ्य अध्ययनका नाममा बर्सेनि ७० अर्ब रुपैयाँ बिदेसिने गरेकाले यसलाई रोक्नुपर्ने, बङ्गलादेशबाट फर्कने क्रममा जहाज दुर्घटनामा निधन भएका १८ डाक्टरका परिवारलाई तुरुन्त क्षतिपूर्ति दिइनुपर्ने उल्लेख छ । 

यस्ताे छ अनसनरत थापाकाे माग

यस्तै बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायँको व्यवस्था गर्नुपर्ने सहित ९ बुँदे माग राखेर थापा अनसनमा बस्नुभएको छ । 

इलाममा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उहाँलाई हेलिप्टरबाट बिहीबार राति काठमाडौँ ल्याइएको थियो । त्यसको भोलिपल्ट थापालाई पनि नेपाली सेनाको हेलिकप्टरबाटै काठमाण्डौ ल्याइयो । 

डा.केसी र थापा दुवैको अहिले काठमाण्डौको त्रिवि त्रिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचार सँगसँगै दुवैको अनशन पनि जारी नै छ ।  

आईसीयू नपाउँदा माइतीघर 

इलाममा अनसनरत थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइए पनि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आईसीयू नपाउँदा उहाँ अनसन बस्न माइतीघर मण्डला पुग्नुभयो ।

डा.केसीलाई आईसीयूमा राख्ने तर आफूलाई भने आकश्मिक कक्षमा भर्ना गरेकोप्रति आपत्ति जनाउँदै थापा मण्डला पुग्नुभएको थियो ।

मण्डला पुगेको केहीबेरमा फेरि प्रहरीले थापालाई शिक्षण अस्पताल लगेर आईसीयूमा नै राखेको थियो । 

अहिले थापालाई एमआईसीयूको ५ नम्बर वेडमा राखिएको छ ।

थापालाई MICU काे ५ नम्बरमा बेडमा राखिएकाे छ ।

थापाको स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई एमआईसीयूमा राखिएको चिकित्सकहरुले बताएका छन् । 

थापाको मुटुको चालमा केही गडबडी देखिएको चिकित्सकहरुले बताएको थापाका सहयोगी पुष्प भण्डारीले बताउनुभयो । थापाका सहयोगी भण्डारीका अनुसार माग पूरा नभएसम्म थापाको अनसन जारी नै रहने छ ।  

को हुन थापा ?

थापा चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ अनसन बसिरहेका डा. केसी विरुद्ध अनसन बसेर चर्चामा आउनुभएको हो । 

डा.केसीको विरुद्धमा थापा पहिलो पटक वैशाखमा काठमाण्डौको टुँडिखेलमा अनसन बस्नुभएको थियो । त्यो बेला ५२ दिन अनसन बस्दा पनि सरकारले कुनै चासो नदिएको उहाँका सहयोगी पुष्प भण्डारीले बताउनुभयो । 

वैशाखमा ‘हाम्रो पार्टी नेपाल’को भ्रातृ संगठन ‘मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा’को नेतृत्वमा थापा अनसन बस्नुभएको थियो ।  तर अहिले ‘निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्ति संयुक्त सङ्घर्ष समिति’ को नाम दिएर थापा अनसनमा हुनुहुन्छ । 

थापाको मूल घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३, सिस्नेरीस्थित डाँडागाउँ हो । नेपाली सेनाका पूर्व जमदार तेजबहादुरका जेठा छोरा हुनुहुन्छ, उहाँ ।

डाँडागाउँमै जन्मिएका थापाको परिवार २०५८ सालमा उदयपुरको कटारी बसाइँ सरेका थिए । उहाँले एसएलसीसम्मको अध्ययन कटारीमै गरेको सहयोगी भण्डारीले बताउनुभयो । 

पछि उहाँको परिवारले कटारी बजारको घर बेचेर काठमाण्डौ बसाइँ सर्यो । हाल थापाको परिवार काठमाण्डौ महानगरपालिका, मनहरा ६ कागेश्वरीमा बस्दै आएको छ । 

पार्टीबाट निष्कासनमा परेका थिए थापा

वैशाखमा पहिलो पटक डा. केसीको विरुद्धमा अनसन बस्न ‘हाम्रो पार्टी नेपाल’ले सहयोग गरेको थियो । त्यो बेला त्यस पार्टीको भ्रातृ संगठन ‘मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा’को संयोजक हुनुहुन्थ्यो थापा ।

बैशाखमा मिसन सिन्धुलीगढी राष्ट्रिय माेर्चा नेपालकाे संयाेजनमा डा.केसी विरुद्ध अनसन बसेका थिए थापा ।

तर पछिल्लो पटक पार्टीको लाईनभन्दा बाहिर गएर अराजक गतिविधिमा लागेको भन्दै पार्टीले कारबाही गरेको ‘हाम्रो पार्टी नेपाल’का केन्द्रीय संयोजक गोविन्द बोहोराले जानकारी दिनुभयो । थापालाई साउन ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । 

अहिलेको अनसनमा पार्टीले कुनै पनि सहयोग नगरेको भन्दै बोहोराले थापा कतैबाट परिचालित भएको दावी गर्नुभयो । विगतमा थापा चुरेभावर राष्ट्रिय पार्टीमा समेत आबद्ध हुनुहुन्थ्यो । चुरे भावरमा आबद्ध हुँदासमेत उहाँलाई विभिन्न घटनामा संलग्न भएको आरोप लागेको थियो ।

थापा हाल ‘रैथाने एकता परिषद्’ का संयोजक समेत हुनुहुन्छ । तराईका रैथाने समुदायलाई छुट्टै किसिमको पहिचानको मुद्दा स्थापना गर्ने भन्दै रैथाने एकता परिषद् गठन भएको हो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया