१० वर्षभन्दा धेरै भइसक्यो भाइ मलेसियाबाट फर्किएन

 माघ ७, २०७५ सोमबार १६:१४:५४ | मेरो कथा मेरो भोगाई

भगवान घिमिरे / पाल्पा ।

राजेन्द्र घिमिरे मेरो काकाको छोरा हो । हाम्रो घर पाल्पाको रामपुर – २ गाँडाकोट हो । ऊ फर्किने आशमा बसेको हाम्रो परिवारलाई कसैले मलेसियाबाट इन्डोनेसिया छिर्ने क्रममा उतै मारिएको खबर सुनाए । तर लास नदेखेसम्म हामी भाइलाई केही भयो भन्ने कुरा सोच्न पनि सक्दैनौं ।

राजेन्द्रका बुवाआमा अर्थात मेरा काका काकी अहिले पनि छोरो ज्यूँदै छ भनिरहनुभएको छ । उहाँहरु छोरो फर्किने आशमा बसेको १४ वर्ष भइसक्यो । यत्तिका वर्षसम्म ज्यूँदो भएको खबरको साटो मारिएको त्यही एउटै खबर धेरैले सुनाइरहे ।

छोरो नफर्किंदा कतै त्यो खबर सत्य नै पो हो कि भन्ने पनि लाग्छ काका काकीलाई । त्यसैले आज म उज्यालोको माध्यम प्रयोग गरेर भाइलाई घर फर्किन आग्रह गर्छु । यदी राजेन्द्रलाई कसैले देख्नुभएको भए परिवार पर्खिरहेको छ भन्ने खबर पनि पुर्‍याइदिनुहुनेछ भन्ने आशा छ । 

हामी नाताले दाजुभाई भएपनि सबैभन्दा मिल्ने साथी थियौं । म जागिर गर्दै थिएँ । उसले पसल चलाउँथ्यो । यत्तिकैमा हामी विदेश जाने भयौं । ओकुमुरा मेटल्स कम्पनीमा हामी दुबै जनाले एकैचोटी कागजात बुझाएका थियौँ । केही महिनापछि उसको भिसा आयो, मेरो आएन । 

ऊ गएको सात महिनासम्म पनि भिसा नआएपछि मैले ओरिएन्टल ओभरसिजबाट पासपोर्ट निकालेर भिरकोट काली ओभरसिजमा मलेसियाकै लागी प्रक्रिया सुरु गरें । सन् २००४ को नोभेम्बरमा मेरो भिसा आयो । म पनि मलेसिया गएँ ।

त्यहाँ पुगेको केही समयपछि हाम्रो गाउँका ९/१० जना साथीहरु क्वालालम्पुरको माइडिन मार्केटमा भेट भयौं । त्यतिबेला राजेन्द्र र उसको भाइ कृष्ण पनि आएका थिए । कृष्ण पनि मलेसिया गएको दुई वर्ष जति भइसकेको थियो । 

हामी आफ्नै काम गरिरहेका थियौं । सन् २००६ को सुरुवातकै दिन थियो । म रातीको ड्युटी सकेर दिउँसो खाना खाएर सुतिरहेको थिएँ । त्यतिकैमा राजेन्द्रले मलाई फोन गर्‍यो । फोनमा राजेन्द्र रोयो ।

दाइ म अलपत्र परें साथमा एक रिंगेट पनि पैसा छैन । लगाएको कपडा बाहेक मसँग केही छैन । मेरो माया लाग्छ भने क्वालालम्पुरको कोताराया मार्केट नजिकै माइडिनको अगाडी उभिएको छु तुरुन्त आउनुहोला । अरु कुरा भेटेपछि भनौंला भन्यो । म तत्काल उठेर क्वालालम्पुरतिर हिँडे ।

डेढ घण्टापछि उसले भनेको ठाउँमा पुग्दा राजेन्द्रले आफूलाई सम्हाल्नै सकेन । धेरैबेर रोयो । मैले उसलाई सम्झाएर केलाङ मेरुमा रहेको म बस्ने होस्टलमा ल्याएँ । होस्टलमा मलाई राजेन्द्र आफ्ना कुरा सुनायो ।

राजेन्द्र सेलांगरमा रहेको ओकुमुरा मेटल्स कम्पनीमा नाइट ड्यूटी गर्ने रहेछ । एकदिन आफ्नै कम्पनीको मलेसियन लिडरले डेलिभरीमा पठाउन तयार पारेको सामन चोरेर बेच्न लागेको राजेन्द्रले देखेको रहेछ ।

लिडरले आफ्नो गल्ती लुकाउन राजेन्द्रलाई प्रहरी लगाएर पक्राउन खोजेको रहेछ । त्यो पनि त्यही काम गर्ने महिलालाई यौन हिंसा गरेको आरोपमा । तर दिउँसो काम गर्नेहरुले त्यो व्यक्तिको योजना थाहा पाएपछि राजेन्द्रलाई त्यहाँबाट भाग्न भनेछन् ।

त्यहाँबाट भागेर राजेन्द्रले तीन महिना एउटा सेक्युरिटी कम्पनीमा पनि काम गरेको रहेछ । तर तलब नदिइ कम्पनीले भागेको मान्छे भनेर पक्राउन खोजेपछि त्यहाँबाट पनि भागेर मलाई फोन गरेको रहेछ । 

मैले होस्टलमा ल्याएर उसलाई अवैधानिक भएर नबस्न सम्झाएँ । सबै मिलेर पैसा उठाएर घर पठाउँछु भनें तर ऊ मानेन । कमाउन आएको मान्छे नकमाइ कुन मुख लिएर फर्किनु भनेर रोयो । मैले उसलाई मेरो कम्पनी काम लगाइदिने आश्वासन दिएँ । 

मेरो रातीको ड्युटी थियो ।  उसलाई कोठामै छोडेर काममा गएँ । मेरो कम्पनीको म्यानेजरलाई धेरै अनुरोध गरें । उसले भागेको कामदारलाई नराख्ने भनेको थियो तर मैले केही भएमा म जिम्मेवारी लिन्छु भनेपछि उसले भोलिबाट काममा ल्याउनु भन्यो ।

म उसको समस्या समाधान हुने भयो भनेर खुशी थिएँ । तर कोठा पुग्दा राजेन्द्र थिएन । साथीहरुले राजेन्द्र त पहिलाकै कम्पनीले बोलायो भन्दै कोठाबाट हिँडेको खबर सुनाए । उसले मलाई नरिसाउनु पनि भनेको रहेछ । फोन गर्दा उसको नम्बरमा फोन लागेन ।

चार दिनपछि उसैले मलाई फोन गरेर फेरि त्यही सेक्युरिटी कम्पनीमा काम लागें, तपाईंले काम खोजिदिनुभएको थियो होला नरिसाउनु है भन्यो । मैले ठीकै छ तर तलबै नदिएर धम्काएको कम्पनीमा फर्किएर नगएको भए हुन्नथ्यो भनें ।

यदी अझै पनि मैले काम गर्ने कम्पनीमा आउँछस भने आइज भन्दा होइन दाइ अब यतै गर्छु बरु क्वालालम्पुरमा समय मिलाएर भेटौं भन्यो । मेरो नम्बर ब्लक भएको छ । यो मेरो नम्बर होइन त्यसैले यसमा नगर्नु भनेर फोन राख्यो । 

त्यही नै ऊसँगको मेरो अन्तिम बोली बन्यो । उसले गरेको नम्बरमा फोन पनि गरें तर मले भाषामा ‘म आप्पा ओरांग राजेन्द्र साया ताताउ’ अर्थात राजेन्द्र भन्ने मान्छे को हो चिन्दिन आइन्दा मलाइ फेरी फोन गरेर डिस्टर्ब नगर्नू भनेर गाली गर्‍यो ।

उसले चाहेको भए मेरो नम्बर उसँग थियो होला । तर कुनै फोन आएन । उसले फोन गर्नै नखोजेको हो कि  केही समस्यामा परेको हो हामीले अझै बुझ्न सकेका छैनौं । 

म सन् २००७ मा फर्किने बेलामा मेरो साथीहरुलाई यदी राजेन्द्रका बारेमा केही थाहा भयो भने भन्नु है भनेर फर्किएँ तर अहिलेसम्म उसका बारेमा कसैले केही जानकारी दिएका छैन । भाइका दुई जना छोरा पनि अहिले त १८ र २० वर्षका भइसकेका छन् ।

बुवाआमा, श्रीमती,छोराहरु मात्रै होइन हामी सबै नै भाइलाई पर्खिरहेका छौं । 
 

अन्तिम अपडेट: असोज ९, २०७६

तपाईको प्रतिक्रिया