सरकारले सीएमसी कम्पनीसँग ठेक्का सम्झौता तोडने प्रक्रिया अघि बढायो

 माघ ७, २०७५ सोमबार १७:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ । 

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा अलपत्र पारेर हिँडेको सीएमसी कम्पनी पुनः सम्पर्कमा नआएपछि सरकारले सम्झौता पत्रमा राखिएको प्रावधान बमोजिम ठेक्का सम्झौता तोड्न १४ दिने सूचना जारी गरेको हो ।

आयोजनाको सुरुङ निर्माणको ठेक्का सम्झौताको बुँदा नम्बर १५ को २ मा ठेक्का सम्झौता बमोजिम काम नगरेमा १४ दिने सूचना जारी गरेर ठेक्का सम्झौता खारेज गर्न सकिने प्रावधान राखिएको छ । त्यही प्रावधानलाई टेकेर त्यस कम्पनीसँगको ठेक्का सम्झौता तोड्न १४ दिने सूचना जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

आयोजनाको सुरुङ निर्माणको अन्तिम चरणको काम सीएमसी कम्पनीले गएकाे मंसिर २९ गतेबाट अलपत्र छाडेको थियो । त्यसपछि पटक पटक ताकेता गर्दा पनि कम्पनी सम्पर्कमा नआएपछि सरकारले ठेक्का सम्झौता खारेज गर्ने प्रक्रिया अघि बढाउनु परेको पनि समितिका प्रवक्ता पन्तले स्पष्ट पार्नुभयो ।

यसैबीच, एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी सो आयोजनाको पेटी ठेकेदारहरुलाई दिन सरकारलाई सुझाव दिएको छ । एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार काठमाण्डौमा भएको छलफलमा आयोजनाको बाँकी काम नेपालकै पेटी ठेकेदारहरुलाई दिएर अघि बढाउन सकिने निष्कर्ष निकालिएको हो ।

आयोजनाको सुरुङ निर्माणमा खटिएका पेटी ठेकेदारहरुलाई नै दिएर सो आयोजनाको बाँकी कामलाई पूर्णता दिन सकिने विषयमा एडीबीसँग छलफल गरिएको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।

सीएमसी कम्पनीले पेटी ठेकेदारलाई नदिएको भुक्तानी कसरी असुली गर्ने भन्ने विषयमा भने समितिले ठोस निर्णय लिन सकेको छैन । त्यस सम्बन्धमा आवश्यक निर्णय लिन बाँकी रहेको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।

आयोजनाको सुरुङ निर्माणको काममा संलग्न पेटी ठेकेदारहरुले डेढ अर्बभन्दा बढी भुक्तानी लिन बाँकी रहेको भन्दै सीएमसी कम्पनीबाट असुल गरिदिन सरकारलाई दबाब दिइरहेका छन् ।

 

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया