बद्रीले आमाहरुलाई यसरी रुवाए, त्यसपछि छमछमी नचाए

 माघ ८, २०७५ मंगलबार ९:३४:२९ | प्रेमनारायण आचार्य

अर्घाखाँची –

बाध्य भइयो परदेशमा छिर्न ।
मैले पढ्दा लाएको ऋण तिर्न ।
आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन ।

लोक दोहोरी गायक बद्री पंगेनी मञ्चमा प्रवेश गरेसँगै यो गीत गाएपछि मेला हेर्न आएका दर्शकको आँखामा आँसु थामिएन । धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । 

अर्घाखाँचीको सन्धिखर्कमा भैरहेको अर्घाखाँची महोत्सवमा पंगेनीले सबैलाई भावविह्वल पारे ।  उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै आमाहरु उनको मुहार हेर्दै आँसु झारिरहेका थिए । 

यो गीत गाइ सकेपछि पंगेनीले सबैलाई सम्झाउँदै भने ‘सबै रुन पो थाल्नु भयो आज त मेला हेर्न आउनु भएको हाँस्ने र नाच्ने हो ।’ त्यसपछि उनले एउटा भजन गीत गाए । सबैजना नाच्न थाले । उनले अब आमा दिदी बहिनी तथा युवाहरुलाई विदेश जाने हैन स्वदेशमै केही गरौँ भनेर सम्झाए । 

पंगेनीले जब गीतमा हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन, जनतालाई साँझ बिहान पेटभरि खान छैन भनेर गीत गाए सबै दर्शकले ताली बजाएर हात हल्लाउन थाले । सबैले हो यहि नै छ हाम्रो अबस्था भनेर संकेत पनि गरे ।

त्यसपछि उनले ससुरालीमा, मन थिएन जोगी बन्नलाई, पञ्चेबाजाको टाइकुटी टाइलगायतका गीत गाए । अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्यूठान, कपिलवस्तु र पाल्पाबाट मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले गीत गाएर भरपुर मनोरञ्जन दिए ।

अर्घाखाँची जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले गरिएको महोत्सवमा प्रमोद खरेल, अमृता भट्टराई, शोभा त्रिपाठी लगायतले आ–आफ्नो प्रस्तुती दिएका थिए ।  

 
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया