श्रमजीवी पत्रकारको पक्षमा महासंघले थाल्याे सञ्चारगृह ध्यानाकर्षण अभियान

 माघ ८, २०७५ मंगलबार १४:१७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासंघले कात्तिक पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा उल्लेखित सेवासुविधा उपलब्ध गराउन सञ्चार गृहहरुलाई ध्यानाकर्षण गराउने अभियानको थालनी गरेको छ ।

त्यस क्रममा महासंघले सोमबार महासंघका अध्यक्ष गोविन्दआचार्य, महासचिव रमेश विष्ट समेतको उपस्थितिमा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलाई भेटी ध्यानाकर्षण पत्र बुझायो । 

महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

त्यस अवसरमा महासंघका अध्यक्ष आचार्यले देशको सबै भन्दा ठूलो प्रसारण संस्था र सरकारी सञ्चार गृह हुनुको नाताले नेपाल टेलिभिजनले उदाहरणका रुपमा ऐन तथा नियमावली कार्यान्वयन गरेर देखाउनु पर्ने बताउनुभयो । 

केही दिनमा हुने अनुगमनबाट सन्तुष्ट हुन नसकिए त्यस्ता मिडियामा महासंघ केन्द्रित हने उहाँले बताउनुभयो ।

महासचिव विष्टले सरकारी सञ्चार माध्यमले ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा उपलब्ध गराए निजी सञ्चार गृहलाई पनि दबाब पर्ने धारणा राख्नुभयो ।

सचिव दाहालले न्यूनतम पारिश्रमिकलगायत ऐन तथा नियममा उल्लेखित सेवा सुविधा नदिने सञ्चारगृहमा कठोर ढंगले प्रस्तुत हुने बताउनुभयो । 
दाहालका अनुसार, एक हप्तासम्म देशभरका सबै सञ्चार प्रतिष्ठानलाई एकै व्यहोराको ज्ञापन पत्र बुझाइनेछ, यो श्रमजीवी पत्रकारको पक्षमा आन्दोलनको आरम्भ हो ।

ज्ञापन पत्र बुझदै नेपाल टेलिभिजन काकार्यकारी अध्यक्ष महेन्द्र विष्टले सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा उपलब्ध गराइसकेको जानकारी गराउनुभयो । 

ध्यानाकर्षण पत्र बुझाउन महासंघ केन्द्रतर्फबाट जन्मदेव जैसी, यम विरही, टेकराज थामी, लेखनाथ न्यौपाने, लेखा समिति सदस्य भुपेन्द्र आचार्यको समेत उपस्थित हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया