स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

 माघ ८, २०७५ मंगलबार १५:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर साैजन्य: रिपाेर्टर्स क्लब

काठमाण्डाै - आउँदाे माघ २६ गते स्याङ्जाको पुतलीबजारमा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । 

‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा ‘क्रस कन्ट्री’ दौड प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका युथ कोअर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले ग्रामीणस्तरमा पनि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । सो प्रतियोगिताबाट ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता भएको स्थानमा साइकल रुट निर्माण गरी साइक्लिङ गर्ने, स्वीमिङ पूल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यतासमेत अध्ययन गर्ने योजना पनि संस्थाले तय गरेको छ ।

प्रतियोगिताको उद्धघाट्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने पनि गुरुङले जानकारी दिनु भयो ।

क्रस कन्ट्री दौड प्रतियोगिता २१ वर्ष मुनिकालाई १४ किलोमिटर तय गरिएको छ भने खुला प्रतियोगिता ३१ किलोमिटरको हुनेछ । पुतलीबजारको बराहचौरबाट सुरु हुने प्रतियोगिता शुक्ला गण्डकी, बिरुवा हुँदै पुतलीबजारमै आएर समापन हुने पनि गुरुङले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने २१ वर्ष मुनिका समूहलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने खुला समूहको प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दाेस्राेलाई ४० हजार र तेस्राे हुनेलाई ३० हजारको पुरस्कार दिइनेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया