स्वास्थ्यसेवा पुग्न नसकेका दाङका बस्ती : डाेकोलाई प्रयोग गर्छन् एम्बुलेन्सको रुपमा

 माघ ८, २०७५ मंगलबार १६:३८:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - भारतीय सीमावर्ती दाङको राजपुर गाँउपालिकाका बासिन्दा अझैपनि डोको तथा खटियालाई एम्बुलेन्सको रुपमा प्रयोग गर्छन् । त्यहाँ न त एम्बुलेन्स जाने बाटो छ न राम्रो अस्पताल नै ।

उनीहरुले ‘सिंहदरबार गाँउसम्म’ भन्ने थेगो त सुनेका छन् तर वास्तविक जीवनमा भने अनुभव गर्न पाएका छैनन् । कहिले सिंहदरबार गाउँसम्म आइपुग्ला भन्दै डाँडापारी हेर्ने उनीहरुको दैनिकी नै भइसकेको छ ।

महिला स्वयंसेवीका समेत नभएको राजपुर गाँउपालिका वडा नम्वर ५ का जंङग्रवा, हतेवा, सिम्लखुट्टी, सोमैथान, माजगाँउ, कुुशुवा, पण्डीतबासे, धारपोखरी, भण्डारी खोला लगायतका १२ बढी टोलमा स्वास्थ्य तथा सञ्चारको सेवा देखि लिएर राम्रो बिद्यालय र सडकको पहुँच नभएको जनज्योती प्राथमिक विद्यालय महतेनीखोलाकी शिक्षिका कौशिला वली भण्डारीले बताउनुभयो । 

गाउँमा स्वास्थ्यकर्मी पनि आउन नमान्ने त्यहाँका बासिन्दाहरु गुनासो गर्छन् । ‘स्वास्थ्यकर्मी भन्ने सुनेका छौँ, महिला स्वयंसेवीकाले एकदुईपटक जुकाको औषधि लिएर आउनुभएको थियो तर अहिले त नदेखेको पनि एक वर्ष भइसक्यो,’ स्थानीय सुशीला पुनले दुखेसो पोख्दै भन्नुभयो, ‘गाउँमा कोही बिरामी पर्दा डोको र खटीयालाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने चलनै बसीसकेको छ ।’

त्यहाँका बासिन्दाहरु अझैपनि टुकीको भरमा बाँचेका छन् । नेपालमा यत्रा जलविद्युत योजना बनिरहेको अलिकति पनि छनक देख्न पाइदैन त्यो गाउँमा । 

विद्युत सेवा नभएकै कारण तेलहन, खाद्यन्न र दलहनको कुटानी,पीसानीका लागि झण्डै ३ घण्टा हिडेर राजपुरको सुगम क्षेत्रमा आउनुपर्ने बाध्यता छ । 

जम्मा ८२ घरधुरी भएका ती बस्तीका लागि बिद्युत पोल पनि गाडी सकेका छन् । तर बिद्युत तार जडान गर्न भने बाँकी नै छ । 

चुरे पहाडको काखैमा रहेका ती बस्तीलाई कुनैपनि सडकले छुनसकेको छैन । जग्गा विवद तथा अन्य कानुनी प्रक्रियाले अबरोध हुँदा सडक पुग्न नसकेकोे स्थानियहरुको गुनासो छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया