मोदीले भनून् – नेपाली मित्रों ! नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ !

 बैशाख २७, २०७५ बिहिबार १४:७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २७ – तीन वर्षअघिसम्म भारतीय प्रधानमन्त्री मोदी सबै नेपालीका मित्र थिए । अहिले उनी नेपालको प्रदेश नं. २ का विशिष्ट मित्र भएका छन् भने धेरै नेपालीका लागि छिमेकको ठालु मात्र भएका छन् । 

नेपालको संविधान आफू अनुकुल बनाउन दिएको दबाब, त्यसपछिको नाकाबन्दी र भुुइँचालोपछिको कहरमा भारतको रुखो व्यवहार ! धेरै नेपालीले मोदीलाई दुःख दिने ठालु ठान्ने कारणहरु पर्याप्त छन् । भारतका उनै प्रधानमन्त्री नरेन्द्र मोदी देशका विशिष्ट पाहुना बनेर नेपाल आउँदैछन् । उनलाई भव्य स्वागत र सम्मान गर्न सरकारले कुनै कञ्जुस्याँई देखाएको छैन ।

मोदीलाई जनकपुरमा चार–चार वटा भाषामा वाचन गरेर नागरिक अभिनन्दन गरिनेछ । नागरिकलाई दुई पैसाको सेवा र सुविधा दिन कञ्जुस मेयरहरु मोदीलाई अभिनन्दन गर्ने प्रतिस्पर्धामा छन् ।

नागरिक अभिनन्दनको पक्ष र विपक्षमा नेपालका संसद, चियापसल, चोकबजार, सरकारी कार्यालय, मन्त्रालय सबै मोदीमय भएका छन् । बाटाघाटा त मोदीकै लागि टालिदैँछ, कालोपत्रे गरिदैछ । यो तयारी हेर्दा सरकार मोदीका पाउमा मात्र हैन, उनी चढेको कारमा पनि धुलो र हिलो नलागोस् भन्ने भक्तिभावका साथ काम गरिरहेको छ ।

एकथरी भन्छन् – नेपालमा नाकाबन्दी लगाएर दुःख दिने मोदीलाई सरकारले स्वागत र सम्मान गरोस्, तर यसलाई नागरिक अभिनन्दन नभनोस् । अर्काथरीको भनाईमा नाकाबन्दीपछि बिग्रिएको दुई देशको सम्बन्ध नागरिक अभिनन्दन गरेर भए पनि सुधार गर्नुपर्छ । 

मोदीलाई दिने भनिएको नागरिक अभिनन्दनको पक्ष र विपक्षमा बहस बढ्दै जाँदा मोदीको भ्रमणमा नेपालले उठाउनुपर्ने विषय ओझेलमा परेको छ । मोदी नेपाल आउँदा नेपाललाई के फाइदा हुन्छ भन्नेबारे सरकारले स्पष्ट बुझाउन नसक्दा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी मात्र बढेको छ ।

जानकी र मुक्तिनाथ मन्दिरको कुटनीतिक सन्देश

मोदीले नाकाबन्दी लगाए, खोले । तर किन लगाए र किन खोले त्यो भनेका छैनन् । त्यसैले नाकाबन्दी गलत थियो पनि भनेका छैनन् । सोझो भाषामा मात्र होइन, घुमाउरो तरिकाले पनि भनेका छैनन् । अहिलेसम्म यस विषयमा केही नबोल्नुको अर्थ हो उनलाई अहिलेसम्म पनि आफूले गरेको नाकाबन्दी ठिक थियो भन्ने लागेको छ । उनी त नाकाबन्दीका कारण आफ्नो बिग्रिएको छवि बनाउन मात्र नेपाल आउँदैछन् । 

मोदीको असफल छिमेक नीतिकै कारण नेपालसहितका देशहरु चीनतर्फ धकेलिए भनेर भारतमा समेत उनको आलोचना भैरहेको छ । अर्को वर्ष हुन लागेको लोकसभा चुनावमा असर पर्ने देखिएपछि भारतमा बिग्रेको छवि उनी नेपालमै आएर प्रतिस्थापित गर्ने प्रयासमा छन् । 

नाकाबन्दीको विपक्षमा दह्रो रुपमा उभिएका ओली नेपालको शक्तिशाली प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई नेपालसँगको सम्बन्ध बढाउन झनै दबाब पर्यो । ओली प्रधानमन्त्रीमा निर्वाचित नहुँदै मोदीले नेपालसँग सम्बन्धको हात बढाए । भारतीय परराष्ट्र मन्त्री सुश्मा स्वराजलाई काठमाडौंमा पठाएर अनि प्रधानमन्त्री हुनासाथ ओलीलाई नयाँदिल्लीमा बोलाएर स्वागत गरे ।

ओली चीन जाने तयारीमा लागेपछि मोदीले एकाएक नेपाल आउने योजना बनाए । कर्णाटकको चुनावको अन्तिम भाषण त्यागेर मोदीले नेपालमा जानकी पूजा गर्ने हतारो गरे । त्यसैले, मोदीको यो भ्रमण सामान्य अवस्थामा अलि असामान्य तरिकाले भैरहेको छ ।  

नाकाबन्दीपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने मोदीको लक्ष्य हुनसक्छ । तर, सम्बन्ध सुधारको सन्देश दिन नेपाल आउँदा मोदीले मधेसप्रतिको आफ्नो सहानुभूति र चीनलाई नेपालमा आफ्नो प्रभाव कायमै छ भन्ने देखाउन खोजेका छन् । मोदीले जनकपुरमा गर्ने जानकी पूजा उनको आस्था मात्रै हो ।

भारतको प्रधानमन्त्रीका रुपमा उनले तराईको मुद्दामा भारतको अडान यथावत छ भन्ने सन्देश दिन चाहेका छन् । मोटरबाटोबाट सहज रुपमा चीनसित जोडिएको कोरला नाका नजिकको मुक्तिनाथमा उनले गर्ने पूजा पनि देखाउनका लागि मात्रै हो । मुक्तिनाथ मन्दिरमा पुगेर उनले चीनलाई दिन खोजको त नेपालमा आफ्नो प्रभाव कायमै छ भन्ने सन्देश हो ।

मोदीले नाकाबन्दीप्रति आत्मालोचना गर्लान् त ?

तीन वर्षअघि भारतले लगाएको नाकाबन्दीको पीडा नेपालीको मनमा अझै ताजा छ । नाकाबन्दीपछि मोदी पहिलोपटक नेपाल आउँदैछन् । उनले अहिलेसम्म नाकाबन्दी लगाएर नेपाल र नेपालीलाई दुःख दिएँ भनेर एक शब्द बोलेका छैनन् । 

नाकाबन्दी सकिएपछि लगत्तै तत्कालीन प्रधानमन्त्रीका रुपमा ओली भारत पुगे । त्यसपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि भारत भ्रमण गरे । भर्खरै ओली प्रधानमन्त्रीको रुपमा दोस्रोपटक भारत पुगे । नाकाबन्दीपछि चारपटक नेपालका प्रधानमन्त्रीसँग दिल्लीमा भारतका प्रधानमन्त्री मोदीले ‘वान टु वान’ कुरा गरे । तर, अहिलेसम्म कतै पनि कसैले पनि नेपाल र भारतका प्रधानमन्त्रीले नाकाबन्दीको प्रसँग निकाले भन्ने पढ्न र सुन्न पाइएन । 

यसपटक भारतका प्रधानमन्त्री नेपाल आउन लाग्दा नेपालीले नाकाबन्दीको पीडालाई चर्को रुपमा उठाएका छन् । नाकाबन्दी गर्नेलाई नागरिक अभिनन्दन गर्न सकिंदैन भनेका छन् । आफू भ्रमणमा निस्कनुअघि नेपालमा के भैरहेको छ भन्ने मोदीलाई पनि राम्रोसँग थाहा भैसकेको होला । नेपालीले नाकाबन्दीको कुरा झिकेर विरोध गर्दैछन् भन्ने खबर पाइसकेका होलान् ।

मोदीलाई नागरिक अभिनन्दन गर्दा पनि हुन्छ, नगर्दा पनि केही बिग्रँदैन । एक रात बास बस्न आउँछु भनेर शत्रुले भन्दा पनि नेपाली संस्कार र संस्कृतिले नआइज भन्दैन । बरु अमिलो मनलाई हँसिलो मुखले छोपेर हाँसीखुसी स्वागत गर्ने नेपालीको परम्परा हो । भारत छुद्र भयो भन्दैमा हामी झन् छुद्र भैरहनु आवश्यक छैन, बरु उसको छुद्रता हाम्रो मान मनितोले घट्छ कि बढ्छ भन्ने मात्र निगरानी गरे पुग्छ ।  

राजनीति गर्ने केपी हुन वा मोदी उनीहरु कहिले नायकका रुपमा पुजिन्छन् । कहिले खलनायकका रुपमा दुत्कारिन्छन् । चार वर्षअघि नेपाल आउँदा मोदी आम नेपालीको मनमा नायकको छवि बनाएर गए । भारतले नाकाबन्दी लगाएपछि नेपालमा उनको छवि खलनायकको भयो र कुनै बेला भारतपरस्त भनिएका केपी ओली नेपालीका नायक भएर उदाए ।

अहिलेको मोदीको भ्रमणले यो छवि बदलिन सक्छ । तर, त्यसका लागि अभिननदन ग्रहण गरेपछि शीर निहुराएर मोदीले भन्नुपर्छ, ‘नेपाल के मेरे मित्रों ! भूल किसी से भी हो जाती है, भारत से भी हुई ! ईस भूल के लिये, वो नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ ।’

तर मोदीका मुखारबिन्दबाट यस्ता शब्दको अपेक्षा गर्नु सम्भवतः हाम्रो गल्ती हो । तर कहिलेकाहीँ गलत आशा गर्दा पनि निराश भैहाल्नु पर्दैन । त्यसैले मोदीलाई स्वागत गरौँ, तर नाकाबन्दी चाहिँ माफी मागे पनि नभुलौँ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया