हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

 माघ ८, २०७५ मंगलबार २०:२८:४५ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्ूुको जिल्ला अस्पतालमा प्रसूति गराइएपनि अत्यधिक रक्तश्राव भएका कारण थप उपचारकालागि मंगलबार हेलिकप्टरमार्फत कोशी अन्चल अस्पताल विराटनगर लगिएको छ । 

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले बताउनुभयो । 

छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गएको शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रुपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै अपरेसन गरेर बच्चा जन्माइएको र आई.सी.यू.मा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देवले बताउनुभयो । 

लिम्बूको अपरेसन पछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो । 

जिल्ला अस्पतालमा ब्लड बैंक समेत छैन । दुई जनाले रक्तदान गरेर लोककुमारीको अपरेसन भएको थियो । तर अपरेसनपछि समेत निरन्तर रक्तश्राव भएपछि जिल्ला अस्पतालले रेफर गरेको श्रीमान् किर्तिमान लिम्बूले बताउनुभयो । 

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँगको समन्वय गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी हुमागार्इंले बताउनुभयो । 

उहाँका अनुसार सरकारले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार सम्बन्धी कार्यविधि नै बनाएर राष्ट्रपति उत्थान कार्यक्रम सञ्चालित छ ।

जिल्लामै पहिलो पटक जोखिममा रहेकी सुत्केरीको उद्धार गरिएको र यस्ता समस्याहरुको निदानका लागि कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको प्रजिअ हुमागाईंको भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया