वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन उडाइयो

 असार ६, २०७५ बुधबार ७:१५:५७ | उज्यालो सहकर्मी

काठमाडाैं - वायुमण्डलको समग्र अवस्था थाहा पाउन मौसमी बेलुन रेडियोसोण्ड उडाइएको छ ।

विहान ५ बजेर ३७ मिनेटमा काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइएको हो ।  वायुमण्डलमा अब बेलुन हरेक दिन उडाइनेछ ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको प्रयासमा विहान मौसमी बेलुन उडाइएको हो । 

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्र्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमीनमा पठाउन मौसमी बेलुन उडाइएको जानकारी दिनुभयो ।

उहाँले अहिले मौसमको पूर्वानुमान भारतको लखनउलाई केन्द्रविन्दु मानेर गरिने हुँदा पूर्ण विश्वसनीय हुन नसकेको भन्दै अब आफ्नै देशबाट उडाइने बेलुनबाट मौसमसम्बन्धी सही सूचना पाउने बताउनुभयो ।

मौसमी बेलुनले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप वैज्ञानिक एवं तथ्यगत बनाउने र जल तथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।

यो बेलुनले  ३०–४० किलोमिटर माथिसम्म पुगी तल रहेको सूचना संकलन गर्ने यन्त्रलाई तथ्याङ्क पठाउने छ र त्यही तथ्याङ्कबाट नै मौसमको पूर्वानुमान गर्न सकिनेछ । बेलुन उडाउँदा दैनिक २ सय अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया