बिपन्न परिवारलाई नाम मात्रैको घर

 माघ १५, २०७५ मंगलबार ८:२:५३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सुनवर्षी नगरपालिमा करिब २१ वर्ष अगाडि एउटा कार्यक्रम आयो, जहाँ गरिब बस्ती बनाउने ।  पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा प्लान नेपालको सहयोगमा सुरु गरेको जनता आवास कार्यक्रम अन्तर्गत बस्ती बनाउने अभियानमा अहिले टिन मात्र बाँकी रहेको छ । 

सुनवर्षी नगरपालिका ५ झिङ्गिटोलमा  प्लान नेपालले २१ वर्षअघि अति बिपन्न घर परिवारलाई  बसोवासका लागि बनाएको घरहरु जीर्ण भएको हो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको  निर्वाचन क्षेत्र नम्बर १ मा  ऋिषिदेव, मुसहर समुदायका  ५८ घर परिवारका लागि घर निर्माण भएको थियो । 
 
प्लान नेपालले कोइरालाकै योजनाअनुसार ल्याएको कार्यक्रममा ४ बिगाह ७ कठ्ठा जग्गा  खरिद गरेर   दुई कोठे पक्की घर वनाएर वितरण गरेको स्थानीयको भनाई छ ।  निर्माण भएको लामो समयसम्म पनि बनाइएका ती घरहरुको रंगरोगन नै नभएपछि जीर्ण भएको हो  ।  ‛हामीलाई बसाएपछि हामी बस्यौँ हामी त गरिब हजुर घर मर्मत गर्न सकेनौँ , अहिले त बस्नै नहुने भयो′ स्थानीय बलराम ऋषिदेवले भन्नुभयो । 

त्यो बेला निर्माण भएको दुई कोठा घर अहिले छाड्नु न बस्नु भएको उनीहरु बताउँछन् । छाडौँ कहाँ गएर बस्ने, तर नछाडौँ सबै घर भत्किन थाल्यो, ओत लाग्ने टिन पनि चुहिन लागेको बलरामको गुनासो छ ।

बनेका घर साना

एउटा परिवारका २ जनाको दरले बस्न मिल्नेगरी घर बनाएको थियो ।  अहिले उनीहरुको परिवारको संख्या बढेर ठूलो भएको छ । एकजनाका ५ जनाभन्दा बढी नै छोराछोरी जन्मिए । अनि उनीहरुको पनि छोरानाती हुँदा घर साँघुरो देखिन्छ । उनीहरु भन्छन्, हामीलाई दैनिक गुजारा चलाउन गाह्रो भएकोले आफैँले घर बनाएर बस्न सक्दैनौं । 

गर्मीको समयमा जसोतसो बाहिरै बसेर पनि गुजारा चलाउने यी बस्तीका परिवारमा जाडोको समयमा भने सकस हुने गरेको सुनाउँछन्  ।   

बलरामले भन्नुभयो,  ‘पाँच जनाको परिवारलाई दुईवटा कोठाले धान्दैन, एउटा कोठामा बुढा भएका    बुबाआमालाई छाडेपछि आफ्नो परिवार चिसो भुईंमा सुताउने गरेको छु ।’ 

जाडोमा न्यानोको खोजी अनि वर्षाको बेला पानी पस्ने समस्या यस बस्तीको मुख्य समस्या हो । 

स्थानीय चनरीदेवी ऋषिदेवले समस्या अहिलेको जाडोको मात्र नभई हरेक समयमा हुने गरेको बताउनुभयो । उहाँले त्यो बेलामा घर बनाएर सहयोग गरेको भए पनि त्यस यता कोही पनि सोधीखोजीको लागि नआएको सुनाउनुभयो  । ‘हामीलाई त घर बनाएर राखियो, अन्त जग्गा किनेर घर बनाउन सक्ने अवस्था पनि थिएन′ उहाँले भन्नुभयो, ‘अहिले आएर घर फेरि भत्किएपछि कहाँ जाने भन्ने समस्या भएको छ ।’

निर्माण भएका ५८ वटा घरहरुमध्ये अधिकांश घरको देवाल चर्किएका,  टिन चुहिने, हावा हुरीले टिनको छानो उडाएको, झ्याल ,ढोका  र टिनको छानो  समेत प्वाल परिसकेको छ । 

विराटनगर–आमगाछी सडकखण्ड अन्तर्गत  रंगेली नगरपालिका र सुनवर्सी नगरपालिकाको सिमानामा रहेको यो बस्ती बसाउँदा ५८ घर रहेका थिए । ती घरहरुमध्ये ४६ घर परिवारलाई प्रति परिवार एक कठ्ठाका  दरले घरसहित जग्गा पास गरेर पाएको भए पनि थप १० परिवारले अझै जग्गा आफ्नो नाममा पाउन नसकेको स्थानीय सदानन्द ऋिषिदेवले बताउनुभयो । 

केही संघ संस्थाहरुले लगानी गरेर भवन निर्माण गर्ने तथा बस्ती बसाउने काम गरे पनि राज्यको तर्फबाट यस्ता बस्तीमा ध्यान गएको देखिंदैन । भवन बनाएर हस्तान्तरण गरे पनि उनीहरुलाई यसको स्याहार सुसार र मर्मतको बारेमा बुझाएको पाईंदैन ।  यसले गर्दा गरिब परिवारको समस्या जहाँबाट सुरु भयो त्यही ठाउँमा पुगेर अन्त्य भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया