विमानस्थलका रेडियो अपरेटर श्रेष्ठविरुद्ध १४ करोड भ्रष्टाचारको मुद्धा

 माघ १५, २०७५ मंगलबार १५:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

श्रेष्ठले भन्सारमा रहँदा सुन तस्करीमा सहयोग गर्ने गरेको र अन्य विभिन्न श्रोतबाट गैरकानुनी आर्जन गरेको भन्दै आयोगमा उजुरी परेकाले छानबिन गर्दा करोडौँ गैरकानुनी आर्जन गरेको भेटिएपछि मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । 

श्रेष्ठ ३३ किलो सुन प्रकरणमा संलग्न रहेको भन्दै कारबाही प्रकृया अघि बढाएपछि २०७३ मंसिरदेखि उनी निलम्बनमा छन् । श्रेष्ठले सरकारी सेवा प्रवेशपछि अहिलेसम्म ९ करोड ६३ लाख रुपैयाँ उनको परिवारले वैधानिक रुपमा आर्जन गरेको देखिए पनि लगानीमा त्यसको दोब्बरभन्दा बढी गरेको भेटिएकाले मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । 

श्रेष्ठले आयभन्दा झण्डै दोब्बर १९ करोड ७४ लाख ५५ हजार रुपैयाँ फ्ल्याट, शेयर तथा विभिन्न ठाउँमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ । 

वैधानिक रुपमा श्रोत खुलेको ९ करोड ६३ लाख रुपैयाँ श्रेष्ठले लगानी गरेको १९ करोड ६३ लाख ५५ हजारबाट घटाउँदा पनि १० करोड ११ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ । 

श्रेष्ठलाई ४ करोड ४९ लाख रुपैयाँ विगोसमेत गरी १४ करोड ६१ लाख २४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको अख्तियारले दायर गरेको मुद्धामा उल्लेख छ । 

श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ र भाईबुहारी रविना प्रधानाङ्गको नाममा सम्पत्ती राखेको अख्तियारले जनाएको छ ।

सम्पत्ती जफत गर्ने प्रयोजनमा संलग्न उनीहरुलाई पनि प्रदिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया