कांग्रेसका पूर्व सभापतिद्वयकाे नाममा खुलेका अस्पताल केन्द्र सरकारकै मातहत राख्ने निर्णय

 माघ १५, २०७५ मंगलबार १६:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे विराेधका कारण सरकारले गिरिजाप्रसाद काेइराला र सुशील काेइरालाकाे नाममा रहेकाे अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेकाे छ । 

पार्टीका पूर्व सभापतिद्वयकाे नाममा स्थापना भएका अस्पताल सरकारले खारेज गर्ने षड्यन्त्र गरेकाे भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएकाे छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाकाे नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हाे ।  

यसअघि यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेपछि कांग्रेस विराेधमा उत्रिएकाे थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो विषयमा आइतबार राति प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्ताका क्रममा  नेताहरुकाे नाममा स्थापना भएकाे अस्पताल केन्द्र सरकार मातहतमा राख्ने सहमति भएकाे थियाे ।  

देउवासँग भएकाे सहमति अनुसार नै मन्त्रिपरिषद् बैठकले दुवै नेताकाे नाममा रहेकाे अस्पताल केन्द्र सरकारकाे मातहत राख्ने निर्णय गरेकाे स्राेतकाे दावी छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया