भेनेजुयलाकाे बारेमा सरकारले भन्याे :आन्तरिक समस्याकाे समाधान त्यही देशका नागरिकले गर्छन्

 माघ १५, २०७५ मंगलबार १९:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भेनेजुयलामा देखिएकाे राजनीतिक संकट र त्यसकाे समाधानका बारेमा नेपालले आफ्नाे आधिकारिक धारणा सार्वजनिक गरेकाे छ । परराष्ट्र मन्त्रालय मार्फत सरकारले आफ्नाे आधिकारिक धारणा सार्वजनिक गरेकाे हाे । 

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै भेनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान गर्ने जिम्मा भेनेजुएलाकै नागरिककाे भएकाे बताएकाे छ ।

देशको आन्तरिक राजनीतिक समस्या त्यही देशका नागरिकले समाधान गर्ने भन्दै बाह्य हस्तक्षेप हुन नहुने स्पष्ट पारेकाे हाे । ‘देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्छ,’ विज्ञप्तिमा भनिएकाे छ ।  

देशकाे राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाकै नागरिककाे भएकाे भन्दै यसमा कसैकाे हस्तक्षेप हुन नहुने मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

केही दिनअघि मात्रै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाकाे आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाउनुभएकाे थियाे ।

प्रचण्डकाे अभिव्यक्तिपछि अमेरिकाले भेनेजुयलाको सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो । 

सरकारले जारी गरेकाे विज्ञप्ति पनि भेनेजुयलाकाे सम्बन्धमा अमेरिकी हस्तक्षेप उचित छैन भन्ने गरी आएकाे छ । नेकपाकै सरकार रहेकाे र पार्टीका एक अध्यक्ष प्रचण्डले यसबारेमा बाेलिसकेकाले प्रचण्डकै अभिव्यक्तिलाई सहयाेग पुग्ने गरी सरकारकाे पनि धारणा आएकाे हाे । 

भेनेजुयलाका सम्बन्धमा प्रचण्डले जारी गरेकाे विज्ञप्तिलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद देखिएकाे बताइएकाे थियाे । 

प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुले भेनेजुयलाकाे बारेमा प्रचण्डले जारी गरेकाे विज्ञप्तिकाे बारेमा  जिज्ञासा राखेकाे भए पनि प्रधानमन्त्री ओलीले यसबारेमा जानकारी नभएकाे र बुझेर मात्रै बाेल्ने बताउनुभएकाे थियाे । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया