फेरि कहिल्यै उठेनन् उमेशचन्द्र

 माघ १६, २०७५ बुधबार १८:२८:४५ | रासस
unn.prixa.net

विसं २०६१ माघ १९ को शाही घोषणाबाट सम्पूर्ण कार्यकारी अधिकार राजा ज्ञानेन्द्रले आफ्नो हातमा लिएपछि राजनीतिक दलमाथि अघोषित प्रतिबन्ध लाग्यो ।

ती दलसँग आन्दोलनको विकल्प थिएन । आन्दोलनलाई चर्काउने योजनाअनुसार काम अघि बढ्न थाल्यो । माघ २६ गते घोषित नगर निर्वाचन बहिष्कार गर्ने क्रममा घोराहीमा शान्तिपूर्ण प्रदर्शन भैरहेको थियो । 

खासगरी माओवादी आन्दोलनबाट अलि धेरै नै प्रभावित जिल्ला हो दाङ । त्यसकारण पनि आन्दोलनमा अन्य दलको समेत सहभागिता थियो । आन्दोलनमा सर्वसाधारणको यति धेरै सहभागिता थियो कि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले त्यसलाई थाम्नसक्नु त धेरै परको कुरा त्यसलाई राम्रोसँग हेर्न पनि नसक्ने अवस्थामा थिए ।

त्यो दिन घोराहीमा जनसागर उर्लिएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै नेकपा एमालेका जिल्ला परिषद् सदस्य उमेशचन्द्र थापा अहिलेको शहीद मार्ग हुँदै अगाडि बढिरहनु भएको थियो, त्यही जुलुशमाथि तत्कालीन शाही सेनाले गोली बर्सायो र एमालेका जिल्ला परिषद् सदस्य थापाको ज्यान गयो । जनआन्दोलन २०६२-६३ को प्रथम शहीद उहाँ हुनुभयो । 

त्यस घटनामा घाइते कृष्ण गिरी सम्झिनुहुन्छ - ‘शाही सेनाले गोली चलाउनुपर्ने अवस्था थिएन । आन्दोलन निक्कै शान्तिपूर्ण थियो । अहिलेको रेडियो मध्यपश्चिम अगाडि त्यो समय झाङहरु थिए ।’ उहाँ भन्नुहुन्छ – ‘माथि ब्यारेकबाट आएको सेनाले एक्कासी गोली चलायो । मेरो एउटा पैतालामा, एउटा कोखामा र एउटा अर्को खुट्टामा गोली लागेपछि म ढलेँ । उता उमेश पनि ढल्नुभयो । उमेश घटनास्थलमै शहीद हुनुभएको हो । त्यसको केहीबेरपछि नै सेना आफैंले मलाई तत्कालीन महेन्द्र अस्पतालमा लगेर उपचार गरेको याद छ ।’

थापालाई एउटा गोली लागेको थियो । नाइटोदेखि तलको भागमा गोली लागेर ढल्नुभएका थापा फेरि कहिल्यै उठ्नु भएन । 

को हुन् उमेश ? 

उमेशचन्द्र थापा प्युठानमा जन्मिनुभएको थियो । विसं २०१२ असोज १० गते उहाँको जन्मदिन हो । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मनुभएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हुँदै आउनुभएको थियो । 

सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आउनुभएको थियो । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुरु गर्नुभएका उमेशले विद्यार्थी कालदेखि नै राजनीति सुरु गर्नुभएको हो । 

प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन सुरु गर्नुभएको थियो । कम्युनिष्ट घटकको रुपमा उहाँले राजनीति सुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उहाँले काम गर्नुभएको नेकपा दाङका नेता टीकाराम खड्काले बताउनुभयो । उहाँ भन्नुहुन्छ - ‘उहाँले विद्यार्थी राजनीतिमा पुर्‍याएको योगदान अहिले पनि स्मरणीय छ ।’ 

विसं २०३५-३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उहाँका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गर्नुभएकै कारण तुलसीपुरमा चार महीना जेल जीवनसमेत भोग्न बाध्य हुनुभएको थियो । थापाले नगर कमिटी सदस्यसमेत भएर काम गर्नुभएको थियो । उहाँको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्नुहुन्थ्यो । 
थापाले विवाह प्युठानबाटै गर्नुभयो । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गर्नुभएको हो । विसं २०४१ फागुन २२ गते उहाँको मागी विवाह भएकोे हो ।

अरुको नजरमा उमेश 

उमेशको मृत्युपछि उहाँको कामको प्रशंसा गर्नेहरु पनि कम छैनन् । उहाँले पार्टी र समाजमा पुर्‍याएको योगदानका बारेमा सबैले खुलेर प्रशंसा गर्छन् । ‘उहाँको आफ्नै व्यवसाय थियो, सबै समय पार्टीलाई दिन नसकेको भए पनि उहाँलाई पार्टीले अर्हाएको काम कर्तव्यनिष्ठ, इमान्दार भएर गर्नुहुन्थ्यो,’ एमाले अध्यक्ष खड्काले बताउनुभयो - ‘विद्यार्थी आन्दोलनमा धेरै समय खर्च गर्नुभएका उहाँलाई त्यही विद्यार्थी आन्दोलनले नै माथि उठाएको थियो ।’ 

सोही आन्दोलनका घाइते कृष्ण गिरी त्यो बेलाको घटनालाई सम्झिँदै भन्नुहुन्छ - ‘गोली लागेर घटनास्थलमै मृत्यु भएका उमेशलाई सेनाले गाडीमा काठको मुढा फाले झैं फालेर लगेको थियो । त्यो मलाई अहिले पनि याद आउँछ ।’ उहाँले भन्नुभयो - ‘तर, उमेशको साहसलाई मान्नुपर्छ । त्यो दिन जनसागर थियो घोराहीमा । त्यसको अघि अघि हुनुहुन्थ्यो उमेश । उहाँले देखाउनुभएको वीरताका कारण उहाँको महिमा अझै चुलिनु पर्छ ।’

जीवनका २१ वर्ष सँगै बिताएकी एञ्जला आफ्नो भन्दा पनि बढी समाजका बारेमा सोच्ने व्यक्तिको रुपमा उमेशलाई पाएको अनुभव सुनाउनुहुन्छ । उहाँले अरुको चाकडी गर्न भने कहिल्यै नजानेको एञ्जलाको मूल्याङ्कन छ । 

थापाले शहादत प्राप्त गरेको १३ वर्ष पुगेको छ । शहीद थापाको सम्मानमा घोराहीमा द्वार निर्माण गरिएको छ र त्यो सडकको नामकरण उमेश मार्ग भनी राखिएको छ । 

राससका लागि नवीन नेपालीले तयार पार्नुभएकाे 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया