अब कर्णालीमा चामल र लिटो बाड्ने काम बन्द हुन्छ : मुख्यमन्त्री शाही

 माघ १६, २०७५ बुधबार २०:२८:३१ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा अब विगतको जस्तो चामल र लिटो बाँड्ने काम बन्द हुने बताउनुभएको छ । 

राष्ट्रिय योजना आयोगले गरेको कर्णाली प्रदेश परामर्श बैठकमा मुख्यमन्त्री शाहीले चामल र लिटो बाँड्न बन्द गरेर स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । 

चामल र लिटो बाँड्ने कामले परनिर्भर बढाएको र श्रम गर्ने मानसिकतामा परिवर्तन ल्याएकाले अबदेखि चामल लिटो बाँड्ने काम बन्द गरेर श्रम गर्ने वातावरण तयार पार्न आफू लागेको बताउनुभयो ।  

विदेशका समान किनेर प्रयोग गर्नुभन्दा पनि स्थानीय उत्पादनलाई बढावा दिँदै स्थानीय उत्पादन नै प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

‘अब आफ्नै ठाउँमा उत्पादन भएका उनीका टोपी, कपडा लगाउँ, भेडाबाख्रा, माछा पालनमा जोड दिउँ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘प्रत्येकको घरमा भैंसी पालौँ, स्थानीय सरकारले भैंसी किनिदिने अभियान सुरु गरौँ  । प्रदेश सरकारले पनि यसमा सहयोग गर्छ ।’ 

मुख्यमन्त्री शाहीले स्थानीय सकार सडकको मात्र पछि लागेको भन्दै सामाजिक विकास तर्फ ध्यान दिएर योजना बनाउन आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय योजना आयोगमा २०/३० हजारका योजना उल्लेख नगर्न पनि आग्रह गर्नुभयो । २०/३० हजारका योजना वडा अध्यक्षले गर्ने हो भन्दै अब प्रदेशमा आयोजना निर्माण गर्दा संघीय सरकारले ठूला आयोजना संचालन गर्नुपर्ने बताउनुभयो । 

योजना आयोगको पन्ध्राैँ योजनामा बुटवलदेखि सुर्खेतसम्म ४ सय केभीको विद्युत प्रसारण लाइन ल्याउने, भेरी करिडोर, कर्णाली करिडोरलाई सम्पन्न गरेर तिब्बतसम्म जोड्ने, विद्युत उत्पादनलगायतका ठूला आयोजनाहरु उल्लेख गरिनुपर्ने भन्दै उहाँले फेरि पनि विगत जस्तै २०-३० हजारका योजना आए त्यसलाई बहिष्कार गर्ने चेतावनी पनि दिनुभयो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया