प्रदेश २ मा मन्त्रीले सचिव कुटेको घटना छानबिन गर्न गठन भएको समितिकाे समय थप

 माघ १६, २०७५ बुधबार २०:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश २ मा मन्त्रीले सचिव कुटेको घटना छानबिन गर्न गठन भएको छानविन टोलिले तोकेको समयमा प्रतिवेदन तयार पार्न नसकेपछि फेरी समय थपिएको छ ।

गएको पुस २९ गते प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेका थिए ।

घटनाकाे छानबिन गर्न त्यही दिन बेलुका ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

आफूले भनेको एनजीओलाई कार्यक्रम नपार्दा आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले आफूलाई कुटपिट गरेकाे सचिव झाले बताउनुभएकाे थियाे ।  

मन्त्री यादवले कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि झापड तथा लातले हानेको सचिवले बताएका थिए । कुटपिटबाट घाइते भएका झाकाे  अस्पताल उपचार भएकाे थियाे । 

सचिव कुटिएकाे घटनाकाे यथार्थ पत्ता लगाउन प्रदेश २ सरकारले कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयाेजकत्वमा तीन सदस्यीय टाेली बनाएकाे थियाे ।  

कानुनमन्त्री यादवकाे संयोजकत्वमा रहेको समितिलाई ६ दिनको समय दिइएको भए पनि अझैसम्म पनि समितिले कुनै छानबिन अगाडि बढाएकाे छैन ।

६ दिनकाे समय अनुसार गएकाे माघ ४ मै समितिले प्रतिवेदन बुझाउनुपर्ने थियो। तर, सयमै समितिले प्रतिवेदन बुझाउन नसकेपछि अहिले फेरि समय थप गरिएकाे हाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया