संसदमा सभामुख महराको ठट्टा र खित्का

 माघ १७, २०७५ बिहिबार २०:६:४७ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – एक बजेर पाँच मिनेटमा सुरु भएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको आधा घण्टामै स्थगित भयो । 

बैठकको सुरुमै राष्ट्रिय धुन बज्दा सम्मान स्वरुप उठेका सांसदहरु धुन सकिएपछि बस्ने सुर गर्दै थिए । आ–आफ्नो स्थानमा सबै सांसद बस्न लागेकाले सभामुख कृष्णबहादुर महराले बैठक अगाडि बढाउन सुरु गर्दै भन्नुभयो, ‘आजको प्रतिनिधिसभाको बैठकको कारबाही प्रारम्भ हुन्छ ।’ सभामुखले यति भन्न नभ्याउँदै बस्न सुर गर्दै गरेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु जर्याकजुरुक उठे । 

कांग्रेस संसदीय दलको बिहान बसेको बैठकले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरिसकेको थियो । त्यसै अनुरुप कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए । 

कांग्रेसले आजको बैठकमा पनि विरोध गर्छ भन्ने कुरोको जानकार सभामुख पनि हुनुहुन्थ्यो । 

कांग्रेस सांसदहरु जर्‍याक-जुरुक उठेपछि सभामुख महराले भन्नुभयो, ‘माननीय सदस्यहरु, माननीय सदस्यहरुको विरोधको कार्यक्रम सिद्धिसकेको जस्तो लाग्छ मलाई ।’ यति भनेर उहाँ मुसुक्क हास्नुभयो ।

यतिभन्दा पनि कांग्रेस सांसदहरु नबसेपछि सभामुखले माननीय सदस्यमध्ये कोही बोल्न चाहनुहुन्छ भनेर सोध्नुभयो । त्यसपछि बोल्न हात उठाएका कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजाललाई सभामुखले बोल्ने समय दिनुभयो । 

झण्डै २३ मिनेट बोल्नुभएका नेता रिजालले डा.गोविन्द केसीको अनसनलाई सरकारले नजरअन्दाज गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गराएको, सरकार  दुई तिहाईको दम्भमा अधिनायक बन्न खोजेको, सभामुखको भूमिका तटस्थ हुनुपर्नेमा सत्तापक्षीय कार्यकर्ताजस्तो देखिएको भन्दै आलोचना गर्नमै खर्चनुभयो । 

लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सीमित हुँदै गएको भन्दै उहाँले त्यो बाटोमा नहिँड्न सरकारलाई सचेत पनि गराउन भ्याउनुभयो ।  

आफ्नो भनाई सक्दै नेता रिजालले वार्ता र सम्वादमार्फत सबै काम अघि बढाउनु पर्ने भन्दै त्यसो नहुँदासम्म बैठक अघि बढ्न नसक्ने बताउनुभयो । नेता रिजालले बैठक अघि बढ्न नसक्ने भनेर बोले लगत्तै कांग्रेस सांसदहरु फेरि जर्‍याक-जुरुक उठे । 

सभामुख महराले ‘माननीय सदस्यहरु बस्नुस्’ भन्दा पनि कांग्रेस सांसदहरु उठेरै विरोध जनाइरहे । कांग्रेस सांसदहरु विरोधमा उठिरहे पनि नेमकिपाका सांसद प्रेम सुवालले हात उठाउँदै बोल्न समय माग गर्नुभयो । सभामुख महराले कांग्रेस सांसदलाई बसिदिन भन्दै बसेपछि मात्रै सुवाललाई समय दिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म केही कुरा भन्छु माननीय सदस्य, त्यसपछि माननीय सदस्यहरु बस्नुहुन्छ । अनि त्यसपछि तपाईँलाई समय दिन्छु, माननीय सदस्य ।’

कांग्रेस सांसदहरु नबसेपछि सभामुख महराले प्रमुख प्रतिपक्षिले उठाउँदै आएको मूल मुद्धा अस्पतालको बारेमा सरकारले निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरुले उठाउँदै आउनुभएको मूल मुद्धा अस्पतालको बारेमा सरकारले निर्णय गर्यो र यो निर्णय यहाँहरुले उठाएको आवाजको अनुकुल भएको मैले पाएको छु ।’

त्यसलगत्तै सभामुख महराले ठट्यौली पारामा ‘सरकारले गरेको सकारात्मक निर्णयमा खुशीका साथ उठ्नु भएको हो कि के हो माननीय सदस्यहरु ?’, भन्दै प्रश्न गर्नुभयो । ‘खुशीको बेलामा उठिराख्नु पर्दैन माननीय सदस्यहरु, बस्नु भए हुन्छ’, भन्दै उहाँ खित्का छाडेर हाँस्नुभयो ।  

चिकित्सा शिक्षा विधेयकको विषयमा ११ गते नै विधेयक पास भइसकेको र पास भएको विषय उठाइरहनु नपर्ने भन्दै त्यो प्रक्रियामा माननीय सदस्यहरु पसिसकेकाले यो प्रक्रियागत ढंगबाटै आएको स्मरण गराउन पनि उहाँले भ्याउनुभयो ।  

पटक–पटक बस्न अनुरोध गर्दै सभामुख महराले आफ्नो भनाइ पनि राखिरहनु भएको थियो । ‘माननीय सदस्यहरुले उठाएको विषय जायज नै छ । त्यो विषय मैले गम्भीरताका साथ लिएको छु । सरकारको पनि ध्यानाकर्षण भएकै छ’, उहाँले भन्नुभयो । 

‘राष्ट्रिय महत्वका विषयहरुमा तपाईँहरुले आवाज उठाउनु भएकै छ, त्यसैले आज पनि सदनको कारबाही अघि बढाउनका लागि माननीय सदस्यहरुले सहयोग गरिदिन विशेष अनुरोध गर्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु बसिदिनुस् ।’ 

सभामुखले यति भनिरहँदा पनि कांग्रेस सांसदहरु नबसेपछि सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा उठ्दै बोल्ने समय माग गर्नुभयो । 

खतिवडालाई बोल्ने समय दिने आश्वस्त पार्दै सभामुखले फेरि भन्नुभयो, ‘माननीय सदस्यहरु अब केही समयपछि बस्नु हुन्छ, बसिसकेपछि बोल्नुहोला ।’ 

‘माननीय सदस्यहरुलाई बोल्न समय दिन्छु तर माननीय सदस्यहरु उठिरहनुभएको छ’ भन्दै सभामुख महराले फेरि भन्नुभयाे, ‘उहाँहरुले सरकारले गरेको निर्णयप्रति खुशी मनाएकै हो ।’  

केही छिनपछि फेरि सभामुख महराले ‘माननीय सदस्यहरु अब त विरोध पुग्यो कि ?’ भनेर प्रश्न गर्नुभयो । ‘मैले बुझ्न नसकेको कुरो के छ भने यो विरोध हो कि समर्थनमा उठ्नु भएको हो मैले बुझ्नै सकिन’ भन्दै सभामुख महरा फेरि हाँस्नुभयो ।

पटक–पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरु नबसेपछि सभामुख महराले संसद सचिवसँग अब के गर्ने भनेर सल्लाह लिनुभयो । त्यसपछि फेरि पनि बस्न आग्रह गर्दै सभामुख महराले ठट्यौली पारामा भन्नुभयो, ‘माननीय सदस्यहरु धेरै बेर उभिनुभयो, थकाई महसुस होला ।’ 

‘यहाँहरुले राख्नु भएको सदनसम्बन्धी विषय, सरकारसम्बन्धी विषयमा गम्भीर ध्यानाकर्षण भएको छ माननीय सदस्यहरु’, सभामुख महराले फेरि भन्नुभयो, ‘सदनको कारबाही अघि बढाउन सहयोग गरिदिनुहुन आग्रह गर्दछु माननीय सदस्यहरु ।’

‘संसदमा अरु माननीय सदस्यहरुले बोल्न समय माग गर्नु भएको छ, उहाँहरुलाई पनि बोल्न दिनु छ । माननीय सदस्यहरु बसिदिनुस् म विशेष अनुरोध गर्दछु’, सभामुख महराले कांग्रेसका सांसदलाई बसिदिन आग्रह गर्नुभयो । 

यति भनेर सभामुख महराले बैठक अघि बढाउने कि के गर्ने भनेर फेरि नजिकै रहेका संसद सचिव गोपालनाथ योगीसँग सल्लाह गर्नुभयो ।  

त्यसपछि पनि सभामुख महराले फेरि ठट्टा गर्न छुटाउनुभएन । ‘माननीय सदस्यहरु मलाई कति मिनेटपछि बसिदिनुहुन्छ भन्ने थाहा भयो भने म त्यसैअनुसार प्रतिक्षा गर्थेँ ।’ 

यति गर्दा पनि कांग्रेस सांसदहरु नबसेपछि सभामुख महराले भन्नुभयो, ‘मैले धेरै पटक अनुरोध गरे, विशेष अनुरोध पनि गरे तर त्यति गर्दा पनि माननीयहरु बस्न नमानेपछि आजको बैठक यही स्थगित हुन्छ ।’ 

महराले अबको अर्को बैठक आइतबार दिनको ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो । 

सभामुख महराले झण्डै १० मिनेटसम्म पर्खनु भएको थियो । मिनेन्द्र रिजालले बोलेपछि १० मिनेट पर्खँदा पनि कांग्रेस सांसदहरु निरन्तर उभिइरहेपछि सभामुख महराले आजको बैठक स्थगित गर्नुपर्यो ।  
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया