समयमै छोराछोरीको जन्मदर्ता गराए एक हजार सुत्केरी भत्ता

 माघ १८, २०७५ शुक्रबार ७:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ ले समयमै छोराछोरीको जन्मदर्ता गराउने महिलालाई एक हजार सुत्केरी भत्ता दिने गरेको छ । बच्चा जन्मिएको ३५ दिनभित्र वडा कार्यालयमा आएर छोराछोरीको  जन्मदर्ता गराए सुत्केरी भत्ता दिइने गरेको वडा अध्यक्ष थम्मप्रसाद गौतमले जानकारी दिनुभयो । 

समयमा जन्मदर्ता नगराउँदामा भविष्यमा हुने विभिन्न समस्या आउन नदिनका लागि यस्तो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म १८ जनाले वडा कार्यालयबाट ३५ दिन भित्र छोराछोरीको जन्मदर्ता गराएर प्रति व्यक्तिले एक हजार भत्ता प्राप्त गरेका छन् । 

‘हामीले वडामा धेरै जसो महिलाहरुको बिवाह दर्ता भएको पाएनौँ । जसले गर्दा महिलाहरु श्रीमानले दोस्रो विवाह गर्दा समस्या भोग्नु परेको, छोराछोरीको भविष्य अन्यौल भएको, महिलाहरुले पाउने अधिकारबाट बञ्चित भएका पायौँ’ अध्यक्ष गौतमले भन्नुभयो, ‘त्यसैले हामीले जन्म दर्ता गराए सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएका हौँ । 

छोराछोरीको जन्मदर्ता गर्न आउँदा बुवाआमाको विवाह दर्ता अनिवार्य भएको हुनुपर्छ । यसले विवाह दर्ता गरुन् भन्ने उद्देश्यले पनि हामीले यो कार्यक्रम ल्याएका हौँ ।’ उहाँले वडा कार्यालयको आन्तरिक स्रोतबाट नैै भत्ता दिने गरेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया