सरकारले सोचेजति काम गर्‍यो : मुख्यमन्त्री पौडेल, राजधानी तोक्न र नामाकरणसमेत गर्न सकेन : प्रतिपक्ष नेता बानियाँ

 माघ १८, २०७५ शुक्रबार १४:२१:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेश सभा सचिवालयले शुक्रबार प्रदेश राजधानी हेटौँडामा प्रथम वार्षिक उत्सव मनाएको छ । 

एक वर्षभरि गरेका कामका गतिबिधि समेटेर प्रदेश सभा दर्पण स्मारिकासमेत प्रकाशन गरेको छ । प्रथम वार्षिक उत्सवको अवसरमा बोल्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब बस्ने प्रदेश सभा बैठकबाट यो प्रदेशको नामाकरण र राजधानीको विषय टुङगो लगाउने बताउनुभयो । प्रदेश सरकारले एक वर्षसम्म काम गर्दा कुनै पनि कमजोरी नभएको दावी गर्दै उहाँले भन्नुभयो, ‘एक वर्षको बालकले के गर्न सक्छ र ? तैपनि हामीहरुले धेरै मेहनतका साथ अहिले कुनै पनि काम नरोकिने गरी कानुन र कार्यविधि ल्याएका छौँ । अब कामको स्पीड बढ्छ ।’ 

तीन नम्बर प्रदेश सरकारको मातहतका कार्यालयहरु १ सय ६५ वटा खुलिसकेकाले अब काम गर्नका लागि सजिलो भएको उहाँले बताउनुभयो । सरकारको सार्वजनिक खरिद ऐनको समस्याका कारण लामो समयसम्म काम गर्नका लागि समस्या हुने भएकाले अब प्रदेश सरकारका ठूला योजनाका कामहरु छिट्टै सुरु हुने  उहाँले बताउनुभयो ।

सरकारले प्रदेश सभालाई बिजनेस दिनका लागि आफूहरु तयार रहेको बताउँदे उहाँले सरकारलाई कमजोर भनेर नठान्नका लागि आग्रह पनि गर्नुभयो । कार्यक्रममा प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सभा र सरकारका कारण एक वर्षसम्म पनि प्रदेशको नामाकरण र राजधानी टुङ्ग्याउन नसकिएको बताउनुभयो । सरकारका कारण प्रदेश सभालाई कमजोर बनाउन लागिएको उहाँले बताउनुभयो । संसदलाई सरकारले बिजनेस दिन नसकेकोमा उहाँले आपत्ति जनाउनुभयो । 

तीन नम्बर प्रदेशका सभामुख साुनकुमार श्रेष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको थियो । 

 राजधानी र नामाकरणमा राजनीतिक अन्यौलता

यस्तै ३ नम्बर प्रदेशको  राजधानी र नामाकरणको विषयमा भने प्रदेश सभा गठन भएको एक वर्ष हुँदा पनि अन्यौलता रहेको छ । पछिल्लो समय राजनीतिक दाउपेचको रुपमा राजधानीको विषयले चर्चा पाउँदै आएको छ । पछिल्लो  समय प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्रीले पनि राजधानीको विषयमा बोल्दै आएका छन् ।

यही साता प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले काभ्रेको एक कार्यक्रममा राजधानी काभ्रेमा सार्ने भन्दै मन्तव्य दिएको समाचार सार्वजनिक भएको थियो । यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले पनि काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा हेटौंडाबाट कुनै पनि हालतमा राजधानी नसार्ने बताउनुभएको थियो । 

यसरी राजनीतिक मुद्दा बने पनि प्रदेशको राजधानी र नामाकरणको विषय भने प्रदेश सभाको एक वर्षमा टुङ्गिन नसकेको हो । प्रदेश सभाको स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न विशेष समिति बनेर प्रतिवेदन बुझाउँदा पनि राजधानीको विषयले प्रवेश नपाएको हो ।

३ नम्बर प्रदेश सभाका सदस्य दीपक निरौलाको संयोजकत्वमा १३ सदस्यीय प्रदेशको स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति बनेको थियो । समितिले ५ जिल्लालाई सिफारिस गरेता पनि राजनीतिक सहमति नहुँदा मतदान जाने निर्णया कार्यव्यवस्थाले गरेको थियो तर सभामुख सानुकुमार श्रेष्ठले छलफलमा लान सक्नुभएको छैन ।  प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले भने अब हुने हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने बताउनुभएको छ । 
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया