‘यल इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ सुरु, नाेबेल विजेता नादियाकाे जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

 माघ १८, २०७५ शुक्रबार १७:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबारबाट नेपाल प्रशासनिक स्टाफ कलेजमा ‘यल इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ (इफ) को पहिलो संस्करण सुरु भएको छ । नसुनिएका आवाज र कथाहरु भन्ने नाराका साथ इफले आफ्नो पहिलो फिल्म फेस्टिभल आयोजना गरेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घण्टी बजाएर चलचित्र महाेत्सवकाे उद्घाटन गर्नुभएको थियो । फेस्टिभलका निर्देशक निशा श्रेष्ठले कार्यक्रमको बारेमा बोलेपछि निर्णायक मण्डलमा रहनुभएका फ्रान्सका ओस्कार पुरस्कार विजेता मार्क बासेटले फेस्टिभलको बारेमा आफ्नो विचार राख्नुभयो । उहाँले फेस्टिभलको पहिलो संस्करणलाई सयौं संस्करणसम्म निरन्तरता दिनुहोला भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो ।

कार्यक्रमको सुरुवाति फिल्मको रुपमा डकुमेन्ट्री ‘अन हर सोल्जर’ देखाइएको थियो । अलेक्जेण्डर बोम्बाचले निर्माण गरेको यो डकुमेन्ट्री नोबेल पुरस्कार विजेता नादिया मुरादको संघर्षमा आधारित छ ।

इफको अध्यक्षमा चर्चित नायिका मनिषा कोइराला भए पनि उद्घाटन समारोहमा उहाँको उपस्थिति हुन सक्नु भएन । यस्तै नेपाली चलचित्रकर्मी मिथिला शर्मा, धिरेन शाक्य, लेखक महेशविक्रम शाह र अर्चना थापा कार्यक्रमको सल्लाहकारको रुपमा रहनुभएको छ ।

निर्णायक मण्डलमा फ्रान्सका ओस्कार पुरस्कार विजेता मार्क बासेट, ग्लोबल सिनेमा तथा क्रियटिभ कल्चरकी प्राध्यापक बुल्गेरियाकी डिना लोर्दानोभा र थाइल्याण्डका फिल्म निर्देशक टोम वालर रहनुभएको छ ।

तीन दिनसम्म चल्ने यस फेस्टिभलमा १५ देशका जम्मा ३७ वटा फिल्महरु प्रदर्शन गरिनेछन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया