अनसन तोड्न डा. केसीलाई पूर्व राष्ट्रपति यादवको आग्रह

 माघ १८, २०७५ शुक्रबार १७:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीलाई आमरण अनसन तोड्न आग्रह गर्नु भएको छ । 

चिकित्सकसमेत रहनु भएका पूर्व राष्ट्रपति यादवले शुक्रबार आफ्नो शरीरको ख्याल गरेर भए पनि आमरण अनसन तोडन डा. केसीलाई आग्रह गर्नु भएको हो । पूर्व राष्ट्रपति यादव डा. केसीले १६ औं पटक आमरण अनसन बसेको २४ औं दिन शुक्रबार उहाँको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुग्नु भएको थियो । 

त्यस अवसरमा उहाँले जीवन अमूल्य रहेकाले सत्याग्रह जारी राख्न तर अनसन भने तत्काल छाडन डा. केसीलाई आग्रह गर्नु भएको थियो । डा. केसीको स्वास्थ्य अवस्था जटिल रहेकाले आफूले तत्काल अनसन छाडन आग्रह गरेको पूर्व राष्ट्रपति यादवले बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुमाझ डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

नागरिकको जीवन रक्षा गर्ने पहिलो कर्तव्य सरकारको भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति यादवले त्यो दायित्व पूरा गर्न पनि सरकारले छिटोभन्दा छिटो डा. केसीको जीवन रक्षाका लागि आवश्यक संवाद सुरु गरिहाल्नुपर्ने बताउनुभयो ।

डा. केसी सरकारले आफूसँग गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आमरण अनसन नतोड्ने अडानमा हुनुहुन्छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि अनसन तोड्न आग्रह गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया