श्रीमानकाे हत्या आराेपमा श्रीमती र उनका प्रेमी पक्राउ

 माघ १८, २०७५ शुक्रबार १८:३७:५९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – तीन महिना अघि धनकुटाको हिलेमा सञ्चालन भएको मिनी मेलामा हत्या गरिएका सुनसरी इटहरी उपमहानगरपालिका–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

लामो समयको अनुसन्धानपछि धनकुटा प्रहरीले मृतककी श्रीमती र उनका प्रेमीलाई हत्याको अभियोगमा प्रक्राउ गरी सार्वजनिक गरेको हो । 

प्रहरीले साँगुरीगढी गाउँपालिका वडा नं. ९ घर भई हाल बराहक्षेत्र ५ कालाबन्जार बस्ने ३१ वर्षीय सविन राई र मृतककी श्रीमती इटहरी उपमहानगरपालिका–१५ की २९ वर्षीया प्रिया चौधरीलाई प्रक्राउ गरेको हो ।

उनीहरुले योजना बनाएर चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमान्को हत्या गर्न राईलाई उक्साएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

चौधरीको २ तथा सवारी चालक पेशा गर्ने राईको १ सन्तान रहेका छन् । धनकुटाको हिले बजारमा लागेको मिनी मेलामा कर्मचारीका रुपमा कार्यरत ३८ वर्षीय चौधरीको कार्तिक १६ गते राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । 

प्रदेश नं. १ प्रहरी कार्यालयको अनुसन्धान समूह विराटनगर र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त टोलीले आरोपितद्धयलाई बुधबार पक्राउ गरिएको एसपी गुरुङले जानकारी दिनुभयो ।
 


 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया