रुकुम पूर्वको सदरमुकाम विवाद : रुकुमकोटमा बन्द हड्ताल, गोलखाडावासीमा निर्णयको आश

 माघ १८, २०७५ शुक्रबार १९:५५:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको सदरमुकामको विवाद विचाराधीन रहे पनि जिल्लामा भने विवाद बढ्दै गएको छ ।

रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलनरतहरुले गर्दै आएको आन्दोलन थप सशत्त mबन्दै गएको छ भने गोलखाडावासीहरुले पनि सरकारले सदरमुकाम गोलखाडामा तोकेको निर्णय कार्यान्वयनको लागि कार्यक्रम गर्दै आएका छन् । 

यसैबीच, रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । रुकुमकोटमा नै रुकुम पूर्वको स्थायी सदरमुकाम माग राख्दै आन्दोलनरत स्थानीयको पक्षमा यहाँका यातायात व्यवसायी र व्यवसायीहरुले बन्द गरेका हुन् । 

यातायात व्यवसायी समितिका अध्यक्ष मूलमान बुढाका अनुसार बन्दसँगै आन्दोलनका अन्यकार्यक्रम समेत गरिने छ । बिहानैदेखि यातायातका साधनहरु ठप्प पारिएपछि रुकुमकोट भित्रिने र बाहिरिने यात्रुहरु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिकहरु विगत एक वर्षदेखि आन्दोलित छन् ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् । 

देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । त्यस रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ । रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । 

सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ । गएको सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोकहरु तथा सीमानामा जुलुस, सरकारी कार्यालयहरुमा धर्ना, कोणसभा, मोटरसाइकल जुलुस, मसाल जुलुसलगायतका कार्यक्रमहरु हुँदै आएका छन् । 

भौगोलिक दूरीलाई मात्र नहेरी पूर्वाधार र जनसख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयले आग्रह गर्दै आएका छन् । साविक जिल्ला रुकुमको सदरमुकामसमेत यहाँबाट खोसिएको हँुदा आफूहरुलाई पटक–पटक अन्याय नगर्न उनीहरुको माग छ ।

सदरमुकामको लागि आवश्यक संरचना रुकुमकोटमा बनिसकेको र विगत साढे एक वर्षदेखि यही काम भइरहेका कारण यहाँबाट अन्यत्र सदरमुकाम सार्न नमिल्ने स्थानीय मनबहादुर बिसीले बताउनुभयो । 

गोलखाडाबासी भन्छन्, – सरकारको निर्णय छिटो कार्यान्वयन हुनुपर्छ

गोलखाडाबासीहरु भने सरकारले गरेको निर्णय छिटो कार्यान्वयन हुनुपर्ने माग गरिरहेका छन् । शुक्रबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनीहरुले यस्तो माग गरेका हुन । 

रुकुमपूर्व सदरमुकाम गोलखाडा स्थापनार्थ सरोकार समिति गठन गरी शान्तिपूर्ण तरिकाले सरकारको निर्णयको पक्षमा आन्दोलन गरिने उनीहरुले बताएका छन् ।

समितिका संयोजक केशरमान रोकाले माघ २२ गते रुकुमकोटमा गएर गोलखाडाको पक्षमा शान्तिपूर्ण आन्दोलन गरिने योजना रहेको बताउनुभयो । आन्दोलनका क्रममा आफूहरु चुप लागेर नबस्ने उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हामी सदरमुकाम खोस्दैनौँ, सरकारको निर्णय कार्यान्वयनको पखाईमा छौँ ।’ सदरमुकाम विवादबारे अदालतमा मुद्दा विचाराधीन रहेकोले यसबारे थप केही बोल्न नमिल्ने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया