उज्यालो सहकर्मी भावुक योगी सम्मानित

 माघ १९, २०७५ शनिबार ७:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–५, नम्बर वडा कार्यालयले सामाजिक विकृति तथा कुसंस्कार अन्त्यका लागि शुक्रबार आयोजना गरेको जनचेतनामूलक बृहत् कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिवसमेत रहनुभएका बर्दियाका उज्यालो सहकर्मी भावुक योगीलाई सम्मान पत्रसहित सम्मानित गरेको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिकासहित ५ नम्बर वडा क्षेत्रमा सामाजिक विकृति, कुसंस्कार अन्त्यका लागि सञ्चार माध्यममार्फत जनचेतनामूलक समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कदरस्वरुप पत्रकार योगीलाई सम्मान गरिएको वडा सचिव केशव खनालले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ र ५ नम्बर वडाका वडा अध्यक्ष गंगाराम जैशीले खादा ओढाएर योगीलाई सम्मान पत्र प्रदान गर्नु भएको हो । पत्रकार योगीसँगै राजधानी दैनिकका सुदिप अधिकारी, रेडियो टाइगर परिवार, इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदिप कुमार डिसी, र स्थानीय बडघरलाई पनि वडा कार्यालयले सम्मान गरेको छ । 

कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकाबाट छाउपडी प्रथालगायतका कुसंस्कारको अन्त्य गर्न हरेक व्यक्तिको चेतनामा परिवर्तन हुनुपर्ने बताउँदै छाउपडी प्रथा, बालश्रम गायतका कुसंस्कारको अन्त्य गर्दै बर्दियालाई शैक्षिक हबका रुपमा विकास गर्न आफूहरु लागिपरेको बताउनुभयो । 

‘सामाजिक विकृति तथा कुसंस्कार अन्त्य गराैँ, सभ्य समाजको निमार्ण गरौँ’ भन्ने मूल नाराका साथ ठाकुरबाबा नगरपालिका–५, शाहीपुरमा आयोजना गरिएको जनचेतनामूलक बृहत् सांस्कृतिक कार्यक्रममा बालश्रम, बालयौनशोषण, छाउपडी, कमलरी तथा वित्तीय साक्षरतासम्बन्धी जनचेतना प्रदान गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर–५, का वडा अध्यक्ष गंगाराम जैशीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया