नेविसंघले जलायो पोखरा महानगरपालिकाको गाडी

 माघ १९, २०७५ शनिबार १०:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ । 

संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ । यसै सिलसिलामा शनिबारको दिन बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उहाँले बताउनुभयो ।

यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।

आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया