कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने सरकारकाे तयारी

 माघ १९, २०७५ शनिबार १६:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - सरकारले पर्साको वीरगञ्जमा रहेकाे कृषि औजार कारखानालाई नया ढंगबाट सञ्चालन गर्ने तयारी गरेको छ । 

लामो समयदेखि बन्द रहेको कारखानाको स्थलगत अध्ययनपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले अध्ययन प्रतिवेदनका आधारमा मोडालिटी परिर्वतन गरेर उद्योग सञ्चालन गरिने बताउनुभएको हो ।

अत्यन्तै प्रतिष्पर्धी बजार भएकाले अहिलेकै अवस्थामा कृषि औजारको बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नभए ट्रष्टको रुपमा ल्याएर सम्पत्ति मूल्यांकन गरी नया ढंगले उद्योग सञ्चालन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

आर्थिक वर्ष २०७५-७६ को बजेटमा  कृषि औजार कारखाना स्थापना गरिने उल्लेख छ । २०२४ सालमा रुसको प्राविधिक र आर्थिक सहयोगमा नेपाल सरकारको संयुक्त लगानीमा स्थापना भएको कृषि औजार कारखाना पछिल्लो समय नोक्सानीमा गएपछि २०५४ सालमा सरकारको निजीकरण योजना अन्तरगत राखेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी सुम्पिएको थियो ।

त्यसपछि पनि कारखाना सञ्चालन सहज नभएपछि २०५९ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकबाट सरकारले उद्योग खारेज गर्ने निर्णय गरेको थियो । खारेजीको समयमा १ सय ८० जना स्थायी कामदार कर्मचारी थिए । हाल कारखानामा नायब सुब्बा सरहका एक जना सुरक्षा इन्चार्ज र ८ जना सुरक्षा गार्ड कार्यरत छन् ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया