आफ्नै जिल्ला जान लागेका पूर्वमन्त्रीसहित चार नेता कुटिए

 माघ १९, २०७५ शनिबार १७:४४:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पश्चिमबाट गृह जिल्ला रुकुम पूर्व जान लागेका नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट भएको छ । 

रोकासँगै गएका नेकपाका जिल्ला नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुनमगर माथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । 

आन्दोलनकारीहरुले रुकुमकोट प्रवेश गर्नु पहिल्यै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट गरेको रोकाले बताउनुभयो । गाडी रोक्न बसेका मान्छेहरु देखेर हामीले गाडि फर्काएर हिँडेर जाँदै गर्दासमेत लछारपछार पारियो’, रोकाले भन्नुभयाे,‘फेरि रुकुमकोट पुग्न लाग्दा मोटरसाइकलको हेलमेट र लात्तिले प्रहार गरियो ।’

कुटपिटबाट रोकाको गर्दनको भागमा चोट लागेको र कानमा समस्या आएको बुझिएको छ । 

नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला गरी रानिकोटबाट रुकमुकोटसम्म कुटपिट गर्दै लगिएको बताउनुभयो । रुकुम पूर्वको सदरमुकाम गोलखाडा स्थापनाका लागि सरोकार समितिको तर्फबाट कार्यक्रमको बारेमा प्रशासनसहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको बताइएको छ ।

रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उहाँ रुकुमकोटमै बसेर वार्ता गराैँ भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको बताएको छ । आन्दोलन चलिरहेको बेलामा बन्दको अवज्ञा गरेको भन्दै कुटपिट गरेको आन्दोलनका सहभागीहरुले बताएका छन् । 

स्थानीय मेडिकलमा उपचार गरेपछि उहाँहरुलाई अहिले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा राखिएको छ । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अहिले सामान्य आन्दोलन भएको र समस्या समाधान हुनेगरी छलफलमा जुटेको बताउनुभयो । श्रोतका अनुसार, पूर्व मन्त्री रोका र नेता सतमानलाई अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखिएको छ भने अन्य दुबै पक्ष बिच वार्ता भईरहेको छ । 

सदरमुकामबारे मुद्धा सर्वोच्चमा विचाराधीन

सदरमुकाम सम्बन्धीको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।२०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगङ्गा गाउँपालिकाको १२ को गोलखाडामा कायम गर्ने निर्णय गरेको थियो । 

देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केहि शान्त भए पनि यही १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ ।

रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाइ पटकपटक पेशी र साधारण तरीकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । अदालतले पछिल्लो पटक मुद्दाको पेशी यही माघ २७ गते तोकेको छ ।

रुकुमकोटमा बन्द कायमै

स्थायी सदरमुकामको माग गर्दै रुकुमकोटमा बन्द, हड्तालका कार्यक्रम भइरहेका छन् ।  जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । 

रुकुमकोटमा नै रुकुम पूर्वको स्थायी सदरमुकाम माग राख्दै आन्दोलनरत स्थानीयको पक्षमा यहाँका यातायात व्यवसायी र ब्यापार व्यवसायीहरुले बन्द गरेका हुन् । सरकारको निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् ।

यातायातका साधान र बजार बन्द हुँदा सर्वसाधारणहरुलाई आवतजावत र दैनिक उपभोग्य सामाग्री खरिदमा समस्या आइरहेको छ ।

सरकारको निर्णय कार्यान्वयनको दबाबका लागि गोल्खाडा पक्षधरले यही २२ गते रुकुमकोटमा शान्तिपूर्ण र्‍यालीको तयारी गरेपछि रुकुमकोट पक्षधर थप आन्दोलित भएका छन् ।

गोल्खाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने माग सहित आन्दोलनमा छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया