तीन सय हप्ता सफा गर्दा पनि वाग्मतीमै ढल

 माघ २०, २०७५ आइतबार ६:३४:५८ | रासस
unn.prixa.net

काठमाण्डाै – वाग्मती सफाइ महाअभियान सुरु भएको अर्काे शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।

सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका–२ स्थित कालोपुल वरपरका नागरिकको गुनासो छ । वडाध्यक्ष राजेश महर्जन सुन्दरीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा लगिएको ढल फुटेर पुलमुनिको क्षेत्रमा दुर्गन्ध फैलने, पानी परेका बेला नदी किनारको सडकमा पानी जमेर आवागमनमा समस्या आउने गरेको बताउनुहुन्छ । 

“गएको हप्ता परेको माघे झरीले पुलमुनि दह जम्यो, सवारी आवतजावतमा समस्या भयो, वडाका तर्फबाट मैले पटकपटक अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुखलाई भनेँ, काम हुन सकेको छैन, महानगरपालिकाका प्रमुखले पनि यो समस्या समितिका अधिकारीसँग राखिसक्नु भएको छ, तर पनि अवस्थामा सुधार आउन सकेको छैन”, उहाँले भन्नुभयो । 

वाग्मती कोरिडोर वर्षौंदेखि कालोपत्र हुन नसक्दा पनि यस क्षेत्रका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलो खप्नु परेको छ । नदी किनारका दायाँबायाँ अहिले पनि फोहर र प्लाष्टिक थुप्रिएको देखिन्छ । पहिलेजस्तो नदी किनारमा दुर्गन्धले जान नसकिने अवस्था सफाइ अभियानका कारण नभए पनि अपेक्षा गरे जति सफा हुन नसकेको सृष्टि महिला समूहकी अध्यक्ष पार्वता डङ्गोलले बताउनुभयो । 

नदी किनारमा लगाइएको पर्खाल वर्षामा आउने बाढीको बहाव क्षेत्रभन्दा तल भएका कारण पनि थापाथली पुलमुनिको कुपण्डोलबाट बल्खु पुलसम्मै डुबानमा पर्ने गरेको छ । नदी किनारमा सडक बनाइएको छ तर चक्रपथ आयोजनाले बोलपत्र आह्वान गरेका चार वर्षसम्म पनि कालोपत्र हुन नसकेको वडाध्यक्ष महर्जनले बताउनुभयो । 

गुह्येश्वरीबाट प्रशोधन गरिएको फोहर पानी पशुपतिमुनि वाग्मतीमै हालिएको छ । त्यसलाई अन्यत्र व्यवस्थापन गर्न अधिकार सम्पन्न वाग्मतीले ठोस पहल गरेको छैन । सुन्दरीघाट क्षेत्रमा पनि ढल हाल्दा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको अभियानकर्मी चित्र सुनुवारले बताउनुभयो । 

उपत्यकाबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । 

वाग्मती सफाइ महाभियानको २९९ औँ हप्तामा ललितपुरतिरको शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो । 

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३२ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । 

गुह्येश्वरीमाथिको नदी सफाइको २६० औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–६ र ८ को सीमास्थित माकालबारी पुल क्षेत्रअघिको नदी किनारमा सफाइ गरियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ । 

सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले नगरपालिका क्षेत्रको वाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

रुद्रमती सफाइ अभियानको २५४ हप्तामा रातोपुल–श्रीरामचन्द्र मन्दिर–सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाइ नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत अभियानकर्मीको सक्रियता थियो । सो अवसरमा वडाध्यक्ष कार्कीले घर आँगनको सफाइ नगरे अर्को हप्ता वडा कार्यालयले कारवाही गर्ने जानकारी दिनुभयो । 

सफाइमा जनप्रतिनिधिको बेवास्ता 

विष्णुमती सफाइको २२६ औँ हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका–३ को सीमास्थित धनेश्वर पुल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी १०० को उपस्थिति रहेपनि जनप्रतिनिधिले यस क्षेत्रको सफाइमा बेवास्ता गरेको उहाँको गुनासो छ । 

वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०० औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०९ औँ हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिनुभयो । 

मनोहरा नदी सफाइको ९९ औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । सफाइमा सुरक्षाकर्मीलगायत १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

चक्रपथ सफाइ अभियानको ९५औँ हप्तामा चक्रपथस्थित चप्पल कारखानाबाट शङ्खपार्कसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । शङ्खपार्कमा बिहान व्यायाम गर्ने, दिउँसो आराम गर्ने मानिसको भीड लाग्ने गरे पनि पानीका बोतललगायत फोहर भेटिएको थियो । 

प्लाष्टिकजन्य सामग्री र सुर्ती एवं खैनीका खोलले चक्रपथ क्षेत्रमा बढी फोहर देखिएको उहाँले बताउनुभयो । २७ किमी चक्रपथमा सार्वजनिक शौचालयका व्यवस्था नगरिँदा सडक किनारमै दिसा, पिसाब गरी दुर्गन्ध फैलिएको अभियानकर्मी रेणुका गुरुङले बताउनुभयो । महानगरपालिकाले सार्वजनिक शौचालय बनाउने कामलाई महत्व नदिएको अभियानकर्मीको भनाइ छ । 

आलोकनगर सफाइको ९५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । यही अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्नेलगायत विषयमा जनचेतनामूलक अभियान चलाउँदै वाग्मती सफाइ महाभियानको २९९ औँ हप्तामा सहभागी भएको थियो । 

सफाइ महाभियान सुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन । 

माघ २६ गते वाग्मती सफाइ महाभियान सुरु भएको ३०० औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ ।

विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको जनाइएको छ । सङ्घीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको जनाइएको छ । माघ २६ गते बिहान ७ बजे आलोकनगर र युएन पार्कमा जम्मा भई प्रभातफेरिसहित शङ्खमूलमा पुगेर ३०० हप्ताको सफाइसहित विशेष कार्यक्रम गरेर मनाइने सचिवालयका सचिव चक्रबहादुर चन्दले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया