सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद थपिने

 माघ २०, २०७५ आइतबार ९:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग ऐन संशोधन गर्ने तयारी गरेको छ । दुवै आयोगको म्याद आउँदो शनिबार सकिने भएकाले सरकारले दुवै आयोगको ऐन संशोधन गरेर फेरि एक वर्ष थप्न लागेको हो । 

आइतबारको राष्ट्रियसभा बैठकमा आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । समय कम भएकाले फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी रहेकाले राष्ट्रियसभाले पारित गरेपछि विधेयक प्रतिनिधिसभामा पठाउने तयारी रहेको राष्ट्रियसभा सचिवालयले जनाएको छ । 

सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन २०७१’ लाई संशोधन गर्न बनेको विधेयक गएको मंगलबार नै संसद सचिवालयमा पठाइसकेको छ । सरकारले दुवै आयोगका अध्यक्ष र सदस्यलाई चाहेमा निरन्तरता दिन सक्ने वा नयाँ नियुक्ति गर्न सक्ने प्रावधान विधेयकमा छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यस्तै, प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

यस्तै आइतबारको बैठकमा जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, “निवृत्तभरण कोष विधेयक, “भुक्तानी तथा फस्र्यौट विधेयक, “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन (नियमन गर्ने) विधेयक र संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया