चाँगुनारायण नगरपालिकाले नगरभित्र इँटाभट्टा सञ्चालनमा रोक लगाउने

 माघ २२, २०७५ मंगलबार १३:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । नगरपालिकाले बनाएको इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारबाही गरेरै भए पनि हटाउने नगर प्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

नगरपालिकाले आयोजना गरेको इँटाभट्टा व्यवसायीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीहरुलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिनुभयो । मिश्रले भन्नुभयो “इँटा भट्टाका कारण भक्तपुर प्रदुषित बन्दै गएको छ, अब चाँगुनारायण नगरपालिका क्षेत्रभित्र इँटा भट्टाहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरिसकेको छ, त्यसैले नगरपालिकाको नियम पालना गर्दै इँटाभट्टा बन्द गर्न अनुरोध गर्दछौँ ।”

अहिले सञ्चालनमा रहेका भट्टाहरुका कारण माटोको क्षयीकरण भइ कृषि उत्पादनमा ह्रास आएको र आम मानिसको स्वास्थ्यमासमेत प्रतिकुल असर गरेको भन्दै उहाँले नगर क्षेत्रभित्र इँटाभट्टा हटाउने अभियान नगरपालिकाले नै सञ्चालन गर्ने बताउनुभयो । उहाँले आगोले नपोलीकनै बिजुलीबाटै अत्याधुनिक रुपमा उत्पादन हुने इँटा उद्योग सञ्चालन गर्न भने नगरपालिकाले प्रोत्साहन गर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेकोले इँटाभट्टा बन्द गर्नुको विकल्प नभएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिमिल्सिनाले भट्टाहरु नगरपालिकाको नियमन क्षेत्रभित्र आइसकेको अवस्थामा प्रदुषणयुक्त भट्टाहरु सञ्चालन गर्ने छुट अब नगरपालिकाले दिन नसक्ने बताउनुभयो । वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले भट्टाले नगरपालिकालाई तिरेको करभन्दा कैयौं गुणा प्रदुषण उत्पादन गरी नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया