साढे ३३ किलो सुन प्रकरण : यूएईबाट सुन पठाउने हरिशरण खड्का पक्राउ

 माघ २२, २०७५ मंगलबार १४:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – साढे ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । 

काभ्रेका हरिशरण खड्का यूएईमा पक्राउ परेका र उनलाई नेपाल ल्याउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार खड्का लामो समयदेखि यूएईमा बस्दै आएका छन् । उनले यूएईबाट नेपालका सुन व्यवसायीलाई सुन पठाउँदै आएका खुलेको छ । प्रहरीले उनलाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिसकेको जनाएको छ । 

२०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा खड्काको नाम मुछिएको थियो ।  

खड्काविरुद्ध रेडकर्नर नोटिस जारी गरेर यूएईबाट पक्राउ गरिएको हो । ३३ किलो सुन प्रकरणमा चूडामणि उप्रेती (गोरे) मुख्य अभियुक्तको रुपमा कारागारमा छन् ।  
यसअघि यूएईबाटै पक्राउ गरेर गोरेका भाइ रमेश उप्रेती र बेनु श्रेष्ठलाई नेपाल ल्याइएको थियो ।  

प्रहरीले रेडकर्नर नोटिस जारी गरेकामध्ये व्यवसायी मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् । उनीहरुको खोजी जारी नै रहेको प्रहरीले जनाएको छ । 

घटना छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको नेतृत्वमा समिति नै गठन गरेको थियो ।   

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया