संसदीय समितिहरुका कारण फोरजी सेवा विस्तारको काम अघि नबढेकाे सञ्चारमन्त्रीकाे भनाइ

 माघ २२, २०७५ मंगलबार १६:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाउनु भएको छ । 

मन्त्री बास्कोटाले ६ वटाभन्दा बढी संसदीय समितिहरुले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने, धम्क्याउने, हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको (?) भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गर्नुभयो ।

फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बाँस्कोटाले त्यस्ता गलत खालको प्रचारसामु आफूले घुँडा नटेक्ने चेतावनी पनि दिनुभयो । मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाल टेलिकमभित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले राति-राति आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराउँदै जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिनुभयो ।

मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बाँस्कोटाको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया