भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ आधारहीन हल्ला मात्रै : श्रम मन्त्रालय

 माघ २३, २०७५ बुधबार ६:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार आधारहीन हल्ला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको जानकारीबिना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो भन्नेबारेमा मन्त्रालयले बुधबार स्पष्ट पार्ने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘यस सम्बन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने नै छौँ ।’

यो समाचार मंगलबार कार्यालय समयपश्चात प्राप्त भएकाले बुधबार यस बिषयमा स्पष्ट पार्ने सहसचिव घिमिरेले जानकारी दिनुभयो । साथै यस सम्बन्धमा कुनै भ्रममा नपर्न पनि सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

आधारहीन हल्लाको पछि नलाग्न आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘यहाँहरु एक जिम्मेवार नागरिकसमेत हुनुभएको हुँदा यसप्रकारको आधारहीन हल्लाको पछि लाग्नुहुने छैन भन्नेमा मन्त्रालय विश्वस्त रहेको व्यहोरासमेत अनुरोध गर्दछौँ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया