रित्तिन लागेको गाउँ भूकम्पछि जुर्मुरायो !

 माघ २३, २०७५ बुधबार ८:२५:५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – केही वर्षअघि न पर्याप्त पानी, न बिजुली, न सडक न त विद्यालय नै थियो, लमजुङको राइनासकोटमा । गाउँबेसी गर्न झनै समस्या ।

आवश्यक विकासका पूर्वाधारसमेत नहुँदा राइनासकोटका बासिन्दा धमाधम अन्यत्र बसाइँ सर्न थाले । गाउँ रित्तिँदै गयो । गाउँमा रहेका केही स्थानीय पनि गाउँ छोडी अन्तै बसाइँ सर्ने योजना बुन्न थाले ।

तर जब २०७२ साल वैशाख १२ मा नेपालमा विनाशकारी भूकम्प गयो । भूकम्पले गाउँमा रहेका सबै घरमा क्षति पुर्‍यायाे । घर निर्माणमा स्थानीयलाई समस्या नै पर्‍यो । तर स्थानीयको घर निर्माणमा सघाउन आइपुग्नुभयो, अमेरिकी नागरिक नतासा वाजनियाक । उहाँकै पहलमा राइनासकोटमा १४ घर ठडिए । डेढ करोड बढीको लगानीमा स्थानीय महत्व झल्कने भूकम्प प्रतिरोधी घर बने । 

रित्तिन लागेको गाउँ भूकम्प गएपछि जुर्मुराएको स्थानीय ओमकुमारी गुरुङले बताउनुभयो । ‘पानी, बिजुली, बाटोघाटोको समस्या । गाउँबेसी गर्न गाह्रो । त्यसैले गाउँबाट बसाइँ सरेर अन्तै जाने धेरै भए । गाउँ रित्तिनै आँटेको थियो । भूकम्प गएपछि गाउँ फेरि जुर्मुराएको छ’, ओमकुमारी भन्नुभयो, ‘भूकम्पले भत्केका घर निर्माणमा नतसाले सघाउनुभयो । उहाँ नभएको भए, उहाँको सहयोग नपाएको भए सायद गाउँ रित्तिसक्थ्यो होला । उहाँको गुन कहिल्यै बिर्सन सक्दैनौँ ।’

होमस्टेले बदलेको जीवन

पुनर्निर्माणपछि गाउँमा होमस्टेसमेत सञ्चालनमा आएको छ । पहिले खेतीपाती गरेर जीवन गुजार्ने स्थानीयले अहिले होमस्टे व्यवसायबाटै मनग्य कमाएका छन् । यसैबाट सजिलैसँग जीवन चलाएका छन् । 

यहाँका स्थानीयले पहिले खेतीपाती गर्थे । उत्पादनले तीन÷चार महिना पनि थेग्थेन । अहिले होमस्टे चलाएपछि यहाँ विभिन्न ठाउँबाट पाहुना ओइरिन्छन् । होमस्टे सञ्चालन गरेसँगै स्थानीयको जीवनस्तर उकासिएको छ । 

‘पहिले त गाह्राे थियो । अहिले होमस्टे चलाएपछि त जीवन चलाउन निकै सहज भएको छ’, राइनासकोटमा होमस्टे चलाउँदै आउनुभएकी ओमकुमारीले भन्नुभयो । 

गाउँमा दैनिक १२ जना पर्यटक आउने उहाँ बताउनुहुन्छ । ‘कहिले एकदमै धेरै पर्यटक आउनुहुन्छ । दिनमा कम्तिमा पनि १०÷१२ जना पर्यटक त आउनुहुन्छ’, उहाँले थप्नुभयो, ‘पर्यटकको चाप बढेको समयमा त महिनामा ५०÷६० हजार सम्म आम्दानी हुन्छ ।’ 

राइनासकोट आउँदा आनन्द महसुस हुने सुन्दरबजार नगरपालिका–९, का रामहरि भट्टराईले बताउनुभयो । 

‘प्राकृतिक सांस्कृतिक हिसाबले निकै धनी छ राइनासकोट । यहाँ आउँदा साह्रै रमाइलो अनुभूति हुन्छ’, दोश्रोपटक राइनासकोट पुग्नुभएका उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि राइनासकोट एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको राइनासकोटमा भेटिनुभएका भोटेओडारका रेवतीकुमार श्रेष्ठले बताउनुभयो । 

गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थाले   

गाउँमा १४ घरधुरी रहेका छन् । १० घरले होमस्टे चलाएका छन् । राइनासकोटको होमस्टेमा लमजुङ, तनहुँ, गोरखासहित काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न ठाउँबाट दैनिक पर्यटकहरु आउँछन् । 

होमस्टे सञ्चालकका अनुसार राइनासकोटको होमस्टेमा एक रात बसेको पर्यटकले ४ सय रुपैयाँ, लोकल कुखुराको मासुसहितको एक छाक खानाको ३ सय रुपैयाँ, र सादा खानाको १ सय ५० रुपैयाँ तिर्नुपर्छ । 

गाउँमा होमस्टे सञ्चालन भई स्थानीयले मनग्य कमाउन थालेसँगै गाउँ छोडी अन्यत्र गएका पनि गाउँ फर्कन थालेका छन् । ३ घरधुरी गाउँ फर्किसकेका छन् । गाउँमा अहिले पानी, बिजुलीको सुविधा छ । इन्टरनेट पनि छ । कच्ची भए पनि सडक छ । 

‘हिजो हेरी आज गाउँमा सुविधा छ । पर्यटन विकासको सम्भावना छ । त्यसैले पनि हिजो गाउँ छोडी गएकाहरु पनि अहिले धमाधम गाउँ फर्कन थालेका छन्’, ओमकुमारीले भन्नुभयो, ‘३ घरधुरी त गाउँ फर्किसके । उनीहरुले गाउँमै घर बनाउँदै छन् ।’

केही उच्च ठाउँमा रहेको राइनासकोटबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, आँखै अगाडि ‘बादलुको घुम्टो’ ओढी मुस्कुराएका हिमाल, नागबेली पारामा बगेका चेपे र मर्स्याङ्दीको लोभलाग्दो दृश्य, बाइसेचौबिसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरुको अवलोकन गर्न सकिन्छ ।

सर्वोदय सेवा आश्रमका अध्यक्ष एवम् सामाजिक अभियन्ता कृष्णराज ओलियाका अनुसार अनुसार राइनास नगरपालिका–९, मा रहेको राइनासकोटबाट १ सय ८० डिग्रीको बिन्दुबाट एकै पटकमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वेन्टी नाइन, गणेश, माछापुच्छ्रेलगायत १८ वटा हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । 

लमजुङको प्रवेशद्वार पाउँदीबाट तीन घण्टाको पैदल यात्रा र दुईघण्टाको सवारी यात्रापछि लमजुङको राइनासकोट पुग्न सकिन्छ ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया