काठमाण्डौ उपत्यकामा चौबीसै घण्टा सार्वजनिक गाडी चलाउने तयारी

 माघ २४, २०७५ बिहिबार ८:९:४५ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – रातको समयमा पनि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालन गर्ने तयारी भएको छ । यात्रुको सुविधालाई ध्यान दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका अनुसार काठमाण्डौ उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डौ महानगरपालिकासँग समन्वय हुनेछ ।

रातको समयमा काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरुलाई सार्वजनिक गाडी नहुँदा समस्या भएकोले यो कामलाई अघि बढाउन ढिलाई भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसायीहरुले भनेअनुसार वैज्ञानिक भाडादर कायम गरेर भए पनि रातको समयमा सार्वजनिक गाडी सञ्चालन गर्नुपर्छ । यसका लागि सम्बन्धित निकायसँग छलफल भैरहेको छ ।’

राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याने भन्ने सहमति व्यवसायीहरुसँग भए पनि त्यो पनि कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु भएको हो ।

सुरक्षाको कुरा

काठमाण्डौ महानगरपालिकाले केही वर्षअघि ४५ लाख रुपैयाँ व्यवसायीलाई अनुदानको रुपमा दिएर १३ वटा सार्वजनिक बस रातको समयमा सञ्चालनमा ल्याएको थियो । परीक्षणका रुपमा झण्डै ६ महिना सार्वजनिक बस सञ्चालनमा आए पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सेवा बन्द भयो । 

रातको समयमा सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रु, गाडी चालक र सहचालकको सुरक्षाको ग्यारेण्टी नभएको भन्दै आफूहरुले रातको समयमा गाडी चलाउन छाडेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रातको समयमा गाडी संचालनमा ल्याउदा सुरक्षाको प्रत्याभुत भए हामी आजैदेखि गाडी सञ्चालनमा ल्याउन तयार छौँ ।’

सरकारले व्यवसायीले भनेअनुसार सुरक्षा दिन तयार रहेको बताइसकेको छ ।

वैज्ञानिक भाडादर कायम भए आपत्ति छैन : व्यवसायी

वैज्ञानिक भाडादर कायम भए आफूहरु रातको समयमा पनि सार्वजनिक गाडी सञ्चालन गर्न तयार रहेको यातायात व्यवसायीहरुले बताएका छन् । सरकारले दिगो रुपमा सार्वजनिक गाडी रातको समयमा पनि सञ्चालन गर्ने वातावरण बनाइदिए आफूहरु जहिले भन्यो त्यहीबेला गाडी सञ्चालनमा ल्याउन तयार रहेको महासंघका महासचिव सिटौलाको भनाई छ ।

उहाँको भनाइअनुसार रातको समयमा गाडी सञ्चालन गर्न काठमाण्डौ उपत्यकाभित्र चौबीसै घण्टा व्यापार तथा व्यवसाय सञ्चालन हुनुपर्ने हुन्छ । त्यसो गर्यो भने चहलपहल बढ्ने र यात्रु नपाउने समस्या हट्ने तथा सेवा सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

राति गाडी चलाउन आफैले पहल गर्दैछु : उपप्रमुख खड्गी

काठमाण्डौ महानगरपालिकाका उप–प्रमुख  हरिप्रभा खड्गीले रातको समयमा गाडी सञ्चालन गर्नुपर्छ भनेर आफूले नै सक्रियता बढाएको बताउनुभयो । उहाँले उज्यालोसँग भन्नुभयो, ‘रातको समयमा काठमाण्डौमा गाडी चलाउने विषयमा कर्मचारीहरुसँग रिपोर्ट माग गरेकी छु, रिपोर्ट आएपछि थप गृहकार्य अघि बढ्छ ।’

काठमाण्डौलाई ‘स्मार्ट सिटी’ भनेर घोषणा गरेर मात्रै नहुने भन्दै उहाँले स्मार्टसिटी हुनको लागि चौबीसै घण्टा सार्वजनिक गाडी पनि सञ्चालनमा आउनुपर्ने बताउनुभयो । 

रातको समयमा अस्पताल आउनुपर्ने, अतिरिक्त काम गर्नुपर्ने जागिरेलगायत अति आवश्यक काममा हिँड्नुपर्नेहरुको जमात बढेकोले यो काम अघि बढाउन ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो । 

व्यवसायी, यातायात व्यस्था विभागलगायत सम्बन्धित निकायसँग यो विषयमा छलफल भैरहेको भन्दै उहाँले महानगरपालिकाले यसलाई छिट्टै टुंगोमा पुर्‍याउने र रातको समयमा पनि सार्वजनिक गाडी चढ्ने वातावरण निर्माण गर्ने दाबी गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया