दुवईबाट फर्किइन भनिएकी मनिषा हराइन, खबर गरिदिनेलाई १० हजार

 असार ७, २०७५ बिहिबार १२:४३:१०

रमा मगर

उदयपुर – श्रीमती युएई गएको ९ महिनामा फर्किएको खबर आयो वीरबहादुर तामाङलाई । उहाँलाई मनिषा आउने केही थाहै थिएन । श्रीमती फर्किएको खबर उहाँसँगै युएई गएकी वीरबहादुरकी दिदी सविनाले सुनाउनुभएको थियो । तर के कारणले ९ महिनामै फर्किनुभएको हो भन्ने चाहिँ थाहा पाउनुभएन । 

दिदीले भनेपछि वीरबहादुर र ६ वर्षकी छोरी प्रमिसा उहाँ घर आउने बाटो हेरिरहेका थिए । तर न मनिसाले काठमाडौं आइपुगें भनेर फोन गर्नुभयो न घर पुग्नुभयो । मनिसा दुवईबाट हिँडिन भनेको तीन महिना भन्दा धेरै भयो । तर उहाँ अहिलेसम्म घर पुग्नुभएको छैन । 

२०७३ साल जेष्ठ महिनाको कुरा हो । उदयपुरको रौतामाई गाउँपालिका – ७ मुर्कुचीकी मनिषा तामाङ परिवार र पाँच वर्षकी बालिकालाई छोडेर रोजगारीका दुवई जानुभयो । रोट्स मेनपावर मार्फत दुबई गएकी श्रीमतिले एड्भान्स कम्पनीमा क्लिनरको काम पाएँ भनेर वीर बहादुरलाई सुनाउनुहुन्थ्यो ।

श्रीमती मनिषा विदेश जानका लागि झण्डै १ लाख ८० हजार रुपैयाँ ऋण लागेको थियो । उता मनिषाको तलब के कति थियो थाहा भएन । सायद कमाई नभएर नै होला मनिषाले पैसा पठाउन सक्नुभएन । हुन त वीरबहादुर पनि २०६६ सालमा साउदी अरब ३ वर्ष बसेर फर्किनु भएको थियो ।

उहाँले विदेशको दुःख बुझ्नुभएको पनि थियो । त्यसैले श्रीमतीलाई किन पैसा नपठाएको भनेर पनि सोध्नुभएन । तर ऋण कसरी तिर्ने भनेर सल्लाह चाहिँ गर्नुहुन्थ्यो । साउदीमा वीरबहादुरको काम राम्रो थियो । त्यही भएर घरखर्च चलाएर पनि थोरै जग्गा किनेर घर पनि बनाउनुभयो । 

साउदीबाट घर आएको १ वर्षपछि फेरि वीरबहादुरले विदेश जान खोज्नुभयो तर मेडिकलमा फेल हुनुभयो । त्यसपछि त झनै अरु विमारीले पनि उहाँलाई च्याप्न थाल्यो । घरपरिवार व्यवस्थित बनाउने सपना बुनेर श्रीमानसँग सल्लाह गरेर मनिषाले नै विदेश जाने निर्णय गर्नुभयो । तर सपना पुरा भएन ।

मनिषासँगै आमाजु सविना तामाङ पनि एउटै कम्पनीमा जानुभएको थियो । कम्पनी एउटै भएपनि बसाई र काम टाढा टाढा थियो । मनिषाले गएको ३ महिनासम्म फोन गर्नुभयो । तीन महिनापछि फोन आउन छोड्यो । 

आफूले पनि परदेशी जीवन बिताएकाले फोन गरेर धेरै किचकिच गर्नु हुँदैन भन्ने लाग्थ्यो वीरबहादुरलाई । कहिलेकाहिँ फोन कुनै बेला लाग्थ्यो त कुनै बेला व्यस्त भन्थ्यो । ‘काममा व्यस्त भएर होला भनेर मन बुझाउँथें’ वीरबहादुर भन्नुहुन्छ । 

तर ९ महिनासम्म श्रीमतीको फोन आएन । गएको फागुुन १६ गते मनिषा नेपाल आएको खबर आयो । एक्कासी नेपाल आएको कुरा सुन्दा वीरबहादुर छक्क पर्नुभयो । नेपाल आएपछि श्रीमती घर आउँछिन् भन्ने आशामा बस्नुभयो । तर आजसम्म मनिषा पुग्नुभएको छैन ।

घर नआएपछि वीरबहादुरलाई मनिषा नेपाल आएको हो कि होइन भन्ने नै शंका लाग्यो । त्यसैले दुवईमा श्रीमतीले काम गर्ने ठाउँमै फोन गरेर पनि सोध्नुभयो । कम्पनीले पनि मनिषा नेपाल गइसकेको भनेपछि आएको त पक्का भयो तर आएर पनि बेपत्ता हुनुको कारण चाहिँ अहिलेसम्म पत्तो पाउन सक्नुभएको छैन । 

नेपाल आएपछि पनि श्रीमती किन घर आइनन् भनेर वीर बहादुरलाई भने दिनरात पिरोलिरहेको छ । साहुको ऋणको पीर त छँदैछ । ऋण भन्दा पनि वीरबहादुरलाई श्रीमती कुन अवस्थामा छिन् भन्ने कुराले सताइरहेको छ । 

छोरी निदाउँछिन वीरबहादुरलाई निद्रा पर्दैन 

पाँच वर्षकै हुँदा छोडेर गएकी छोरीले सुरु सुरुमा आमा सोध्थिन । ममि कहाँ जानुभयो रु भनेर झगडा पनि गर्थिन । उहाँ फकाएर सुताउनुहुन्छ । छोरीलाई त जेनतेन सुताउनुहुन्छ तर आफूलाई भने उहाँलाई निद्रा पर्दैन । 

आफ्नो याद नआएपनि छोरीलाई चाहिँ कसरी बिर्सिन सकेको होला भनेर वीरबहादुर सोचिरहनुहुन्छ । ‘भेटेपछि मलाई नसम्झिएपनि छोरीलाई चाहिँ कसरी बिर्सियौं भनेर सोध्छु’ श्रीमती घर आउँछिन भन्ने आशा वीरबहादुरको मनबाट हराएको छैन । 

खबर दिनेलाई १० हजार 

दुवईबाट हिँडेकी श्रीमती काठमाडौं आएर आफन्तकोमा पो बसिनकी भनेर वीरबहादुरले सबैसँग सोध्नुभयो । तर कतैबाट आशा गरेको जस्तो उत्तर आएन । त्यसैले यदी कसैले देखेको भए खबर गरिदिने व्यक्तिलाई १० हजार रुपैयाँ दिने वीरबहादुरले बताउनुभएको छ ।

उहाँले मनिषाका बारेमा ९८१९९४२०३० मा फोन गरेर जानकारी गराइदिन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

1 Comments

  • डा. सुगम जंग के.सी.

    June 25, 2018, 12:41 a.m.

    अादरणीय पत्रकार महाेदय, उहा र उहा जस्ता हजाराै नेपालीका अाफन्त एअरपाेर्टसम्म अाएर पनी घर नपुगेका उदाहरणहरू प्रसस्तै छन् । तीनीहरूलाइ केलाइ पीडीतकाे उद्दार गर्न गाैसाला, बाैध्द र बालाजु प्रहरी कार्यालयमा दर्ता हुने बेवारीसे शवहरूकाे अध्ययन गराै । थप अध्ययनकाे लागी http://www.missinginnepal.com/ मा लगइन गराै । सेवा नै धर्म हाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया