मलेसियामा महिला सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाली युवकलाई जरिबाना

 माघ २५, २०७५ शुक्रबार १२:११:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा सँगै काम गर्ने महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा एक नेपालीलाई ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ । 

मलेसियाको तमान मयङ केलाङजयामा रहेको केक फ्याक्ट्रीमा काम गर्ने प्रताप थोकरले महिला सहकर्मीको भित्री बस्त्र ‘ब्रा’ को फिता तानेको भन्दै त्यहाँको अदालतले ४ हजार रिंगिट जरिबाना वा ५ महिना जेल बस्नुपर्ने फैसला सुनाएको हो । 

कम्पनीमा काम गर्ने क्रममा प्रतापले मलेसियाकै नागरिक रहेकी सहकर्मी महिलालाई बोलाएका थिए । धेरै पटक बोलाउँदा पनि ती महिला सहकर्मीले वास्ता नगरेपछि प्रतापले उनको ‘ब्रा’ को फिता तानेको बर्नामाको खबरलाई उल्लेख गर्दै मलेसियाको अनलाइन द स्टारले लेखेको छ । 

ती महिलाले प्रतापविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । ती महिलाको पक्षबाट वकालत गर्दै आलिया सुमाया अमरानले प्रतापले महिला सहकर्मीमाथि यस्तो व्यवहार गरेर कम्पनीको काम गर्ने वातावरण खलबलाएको भन्दै हदैसम्मको सजाय माग गरेकी थिइन् । 

मलेसियाको कानुनको दफा ५०९ का अनुसार यस्तो कसुरलाई गर्नेलाई बढीमा पाँच वर्षको जेल, जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । महिलाको पक्षमा आलिया सुमाया अमरानले वकालत गरे पनि प्रतापको पक्षबाट वकालत गर्ने कोही नभएकाले उनले आफैं आफ्नो बचाउ गरेका थिए ।

उनले आफूले पटक पटक बोलाउँदा पनि वास्ता नगरेपछि ध्यान आफूतिर खिच्न मात्रै त्यस्तो गरेको बताएका छन् । उनले जरिबाना तिरे, नतिरेको भने खबरमा उल्लेख छैन । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया