पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

 माघ २६, २०७५ शनिबार ११:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू भए नभएको बारेमा  अनुगमन गर्ने भएको छ । 

श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा आइतबारदेखि सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । 

पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय समितिको बैठकले न्यूनतम पारिश्रमिक लागू नभएका सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने निर्णय गरेको हो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार ‘क’ श्रेणीका राष्ट्रिय सञ्चारगृह अन्तर्गत काम गर्ने पूर्णकालीन पत्रकारको आधारभूत तलब २४ हजार ५ सय रुपैयाँ हुनुपर्ने छ ।

यस्तै, बैठकले सातै प्रदेशमा ‘प्रेस स्वतन्त्रता मिसन’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । मिसनका क्रममा अभिब्यक्ति स्वतन्त्रता, पत्रकारिता, पत्रकार तथा पत्रकारको सुरक्षाका विषयमा सरोकारवाला पक्षबीच छलफल गरि महासङ्घको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गरिने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

यस्तै, पत्रकार महासंघले विभिन्न प्रदेश र स्थानीय तहका आमसञ्चार नीति तथा विधेयकमा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेको पाइएकाले त्यस्ता प्रावधान तत्काल  सच्याउनसमेत माग गरेको छ । 

बैठकले फागुन ९ र १० गते पोखरामा हुने महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्दै साधारणसभालाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया