बाग्मती करिडोरमा सौर्य बत्ती जडान

 माघ २६, २०७५ शनिबार ११:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाग्मती नदी करिडोरमा ४ सय ४० वटा सौर्य बत्ती जडान गरिएको छ । 

बाग्मती सभ्यता एकीकृत विकास समितिको लगानीमा निर्माण गरिएको सौर्य बत्तीको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गर्नुभएको हो । 

बाग्मती नदी सफाइ अभियानको ३ सयौँ हप्ता पुगेको अवसरमा ‘स्वच्छता मेरो पहिचान सफाइ मेरो योगदान’ भन्ने नाराका साथ गरिएको विशेष कार्यक्रमको अवसरमा सौर्यबत्तीको उद्घाटन गरिएको हो । 

कार्यक्रममा झण्डै ५ हजार सफाइ अभियन्ता सहभागी भएका थिए । आज बाग्मती नदी सफाइबाट झण्डै साढे ७ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियन्ता चक्रबहादुर चन्दले बताउनुभयो । 

यही कार्यक्रमबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  देशको ७ सय ५३ वटै स्थानीय तहका लागि नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धि कार्यबीधि २०७५ औपचारिक रुपमा घोषणा गरेको छ । २०७० साल जेठ ५ गतेबाट सुरु भएको सफाइ अन्तरर्गत  हरेक शनिबार बाग्मती सफाइको काम हुँदै आएको छ । एसियाली विकास बैंकको ३ करोड ६० लाख डलर अर्थात् झण्डै सवा ४ अर्ब रुपैयाँ सहयोगमा बाग्मती सुधार आयोजनाको काम थालिएको हो । अहिले सफाइसँगै पूर्वाधार निर्माण, हरियाली कार्यक्रम, फोहोर व्यवस्थापनलगायतका काम भइरहेका छन् । 

वागमती सफाइ महाअभियानको गौरवमय ३००औं हप्ताको विशेष कार्यक्रममा आयोजित बाग्मती नदीमा र्‍याफ्टिङ गर्दै अभियन्ताहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

यस्तै, गोकर्णदेखि सिनामंगलसम्मको ७ किलोमिटर सडकखण्डको दुवै किनारमा पर्खाल लगाउने २० मिटरमा हरित क्षेत्र तथा पदमार्ग र साइकल लेन निर्माणको काम भइरहेको छ । बाग्मतीमा कञ्चन पानी बगाउने भन्दै सरकारले २०५२ सालयता हरेक बर्ष बजेट व्यवस्था गर्दै आएको छ । अभियानमा अहिलेसम्म ७ अर्बभन्दा बढि खर्च भैसकेको आयोजनाका उपनिर्देशक प्रभात श्रेष्ठले बताउनुभयो ।

सफाइ अभियान चलिरहे पनि र सरकार तथा दातृ संस्थाको अरबौँ रुपैयाँ खर्च भइरहे पनि बाग्मती नदी हुनुपर्ने जति सफा भने हुन नसकेको टिप्पणी पनि हुने गरेको छ । हप्तैपिच्छे नदीमा पसेर फोहोर झिक्ने काम भइरहे पनि अहिले पनि घर तथा उद्योगको फोहोर नदीमा मिसाउन रोक लगाइएको छैन । जसका कारण नदी फोहोर भइरहेकै छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया