नेपाली क्रिकेट खेलाडीको रोकिएको मासिक तलब आईसीसीले गर्‍यो निकासा

 माघ २६, २०७५ शनिबार १२:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली क्रिकेट खेलाडीहरुको मासिक तलब आईसीसीले निकासा गरेको छ । 

सन् २०१६ देखि रोकिएको तलबबापतको रकम आईसीसीले आज राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा एकमुष्ट १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ पठाएको हो । 

२०१६ देखि नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीहरुले पछिल्लो समय तलब पाउन सकेका छैनन् । क्यान निलम्बनमा परेपछि प्रत्यक्ष रुपमा आईसीसीले नेपाली क्रिकेटको रेखदेख गर्दै आएको छ ।

खेलाडीको तलब रिलिज गर्नका लागि राखेपले  ३ पटकसम्म पहल गरेको थियो । सुरुमा दुई किस्तामा तलब निकासा गर्ने बताए पनि राखेपका सदस्य सचिव केशबकुमार विष्टले थप पहल गरेपछि एकमुष्ट रकम जम्मा भएको प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

तलब वितरणका लागि प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालगायतको सल्लाहमा खेलाडीको नयाँ वर्गीकरण गरेर आईसीसीमा पठाएको थियो । जसमा ए, बी र सी गरी तीन श्रेणीमा सात सात गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । दुई वर्षको तलब एक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही आठ लाख ४० हजार रुपैयाँ पाउनेछन् । 

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ ६ लाख रुपैयाँ पाउनेछन् । 

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । उनीहरुले मासिक १५ हजार रुपैयाँका दरले दुई वर्षको तलब तीन लाख रुपैयाँ पाउनेछन् । 

खेलाडीहरुको तलब निकासा भएकाले अबको एक दुई दिनमा वितरण गरिने पनि राखेपका प्रेस सल्लाहकार दाहालले बताए ।

‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • kantipost

    Feb. 9, 2019, 4:22 p.m.

    अब चाही केहि होला जस्तो छ

  •  0 Reply

तपाईको प्रतिक्रिया