गायिका माण्डवी त्रिपाठी :  ‘भ्वाइस् स्वीट’, सबै गीत ‘हिट’

 माघ २६, २०७५ शनिबार १४:२:१५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – गोलो, गोरो मुहार । ठिक्कको कद । मिजासिलो व्यवहार । नम्र स्वभाव । त्यसैमाथि मिठो, सुरिलो आवाजकी धनी छिन्, चर्चित गायिका माण्डवी त्रिपाठी । सयौँ चलेका गीतमा आवाज भर्नुभएको छ, गायिका माण्डवीले । 

उनको ‘स्वीट भ्वाइस्’ सबै खाले गीतमा ‘फिट’ छन् । उनले गाएका प्रायः अधिकांश गीत ‘हिट’ छन् । दर्शक/श्रोताको मन, मष्तिष्कमा पनि बसेका छन् ।

लोक, भजन, चलचित्र र आधुनिक गीतका साथै विभिन्न भाषाभाषीका गरी सयौँ चर्चित गीतमा आफ्नो ‘जादुमयी श्वर’ भरेकी छिन्, गायिका माण्डवीले । सबै खाले गीत गरी माण्डवीले हालसम्म २ हजार बढी गीतमा आफ्नो आवाज दिइसकेकी छिन् ।

स्कुलको कार्यक्रम नै ‘टर्निङ प्वाइन्ट’    

उनको जन्म लमजुङको सुन्दरबजार–९,तार्कुटारमा भएको हो । माण्डवीको बुवा शम्भुप्रसाद त्रिपाठी पेशाले शिक्षक थिए । शिक्षण पेशामा भए तापनि उनमा संगीतप्रति औधी रुचि थियो । 

विद्यालयको सांस्कृतिक पाटो पनि उनले नै हेर्थे । घरमा उनी हार्मोनियम बजाउँदै भजन, आधुनिक गीत गुनगुनाउथे । एक हिसाबले त्रिपाठी परिवारको वातावरण नै संगीतमय थियो । त्यो छाप सानैदेखि माण्डवीमा पनि पर्न गयो । 

१२ वर्षको उमेरदेखि नै उनले गीत गाउन थालिन् । विद्यालयमा हुने विभिन्न कार्यक्रममा पनि उनी गीत गाउन तम्सिन्थिन् । 

२०५१ सालमा लमजुङकै तार्कुघाटमा रहेको वीरभक्ति माविमा दूधपोखरी प्रतिभा परिवारले लक्ष्मी जयन्तीको अवसरमा एक साँगीतक कार्यक्रमको आयोजना गरेको थियो । त्यो बेला उनी सुन्दरबजार बरेटारमै रहेको आदर्श बाल माविको कक्षा ६ मा पढ्थिन् । 

कार्यक्रममा भाग लिन आफूभन्दा दुई वर्ष कान्छो भाइ राजन त्रिपाठीसँगै उनी पनि गइन् । कार्यक्रममा रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रमका सञ्चालक यज्ञनिधि दाहाल, साहित्यकार सरुभक्तलगायतका थुप्रै दिग्गज व्यक्तिहरु पनि आएका थिए ।

कार्यक्रममा माण्डवीले ‘कुन मन्दिरमा जान्छौ यात्री...,’ भन्ने गीत गाएकी थिइन् । उनको गायनलाई धेरैले मन पराए । उनको गायन प्रतिभा देखेर यज्ञनिधि दाहालले माण्डवी र राजनको विषयमा रेडियो कार्यक्रम नै बनाउने प्रतिवद्धता सुनाएका थिए । र छिट्टै काठमाण्डौ आउन आग्रह पनि गरेका थिए । 

कार्यक्रममा गीत गाएपछि माण्डवीले सबैको वाहवाही पाएसँगै बुवा शम्भुप्रसादले पनि छोरी माण्डवीलाई गीत/संगीत क्षेत्रमा लाग्न प्रोत्साहन गरे । कार्यक्रम भएको २ महिनामै राजन र माण्डवीलाई लिएर बुवा शम्भुप्रसाद त्रिपाठी काठमाण्डौ गए र  यज्ञनिधिसँग भेटघाट पनि भयो । 

यज्ञनिधि पनि आफूले गरेको प्रतिवद्धताबाट पछि हटेनन् । ‘उहाँले लमजुङ आउँदा जे प्रतिवद्धता गर्नुभएको थियो । काठमाण्डौ गएपछि पनि उहाँले आफ्नो प्रतिवद्धता पूरा गर्नुभयो । हाम्रो विषयमा १०/१५ मिनेटको कार्यक्रम बनाएर रेडियो नेपालको चर्चित कार्यक्रम ‘साहित्य संसार’बाट प्रसारण पनि भयो । त्यो समयमा यति हुनु हाम्रो लागि निकै ठूलो कुरा थियो’, माण्डवी सम्झन्छिन् ।

सबैको साथ, सहयोग, सद्भाव र मायाले नै आफूलाई संगीतमा लाग्न प्रेरणा प्रदान गरेको उनी बताउँछिन् । ‘त्यही स्कुलको कार्यक्रमलाई म मेरो जीवनकाे टर्निङ प्वाइन्ट ठान्छु’, उनी सम्झन्छिन् ।

आदर्श बाल माविबाटै एसएलसी उत्तीर्ण गरेपछि उनी संगीत पढ्नका लागि लमजुङबाट काठमाण्डौ आइन् । संगीत पढ्न र संगीतमा लाग्न बुवा र माता भगवती त्रिपाठीको पनि साथ मिल्यो, माण्डवीलाई  । 

पहिलो गीत नै रिलिज भएन

माण्डवीले ललितकला क्याम्पसबाट संगीतमा स्नातक तहसम्मको पढाई पूरा गरेकी छिन् । साथमा संगीतकार चन्दनकुमार श्रेष्ठसँग पनि संगीत सिकिन् उनले । 

सुरुमा स्टुडियोमा रेकर्ड गराएको गीत ‘नौ डाँडापारी मेरो दिलको राजा....’ । तर यो गीतको ‘कमर्सियल रिलिज’ भने भएन । ‘त्यो बेला खासै ‘आइडिया’ पनि भएन । त्यो गीत भोकल टेष्टको लागि गाइएको थियो’, उनी भन्छिन् ।  

नेपाली चलचित्र ‘हिम्मत’बाट ‘पश्चिमको यो ठिटीलाई पूर्वकै ठिटो मन पर्यो...’ भन्ने गीतबाट ठूलो पर्दाको चलचित्रको पाश्र्व गायनमा पाइला चालेको उनी बताउँछिन् । यसपछि, उनी चलचित्र उद्योगमा ‘प्ले ब्याक फिमेल सिंगर’को रुपमा पनि परिचित भइन् । उनले ‘सिम्पल सिम्पल कान्छीको...,’ ‘ढल्क्यो ढल्क्यो...,’ ‘माया हातमा रुमाल हल्लाउँदै...,’ ‘मात लाग्यो मात लाग्यो...,’ लगायतका दर्जनौँ चलचित्रका गीतमा समेत आवाज भरेकी छिन् ।  

बिहेपछि संगीतमा ‘छलाङ’  

बिहेपछि झनै आफ्नो संगीत यात्रा अघि बढेको उनी सम्झन्छिन् । माण्डवीका श्रीमान् संगीतकार, एरेञ्जर विपिन आचार्य हुन। ‘श्रीमान् पनि स‌ंगित क्षेत्रकै हुनुहुन्छ । मेरो संगीत यात्रामा उहाँको एकदमै साथ मिलेको छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहेपछि मेरो संगीत यात्रा झन् अघि बढेको छ ।’

गायिका माण्डवी र संगीतकार विपिनले काठमाण्डौमै ‘एमबी म्युजिक रेकर्डिङ स्टुडियो’ समेत सञ्चालनमा ल्याएका छन् । 

पछिल्लो समय गीत/संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरु बढ्दै गएका छन् । गीत/संगीतमा लाग्न खोज्नेहरुलाई घरपरिवारबाट साथ/सहयोग मिल्न थालेको छ । 

‘दिल खोलेर आउनुस्, मेहनत गर्नुस्’ 

संगीत क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई माण्डवीको सुझाव छ, ‘दिल खोलेर आउनुस् । मेहनत गर्नु्स् । नेपाली म्युजिक इन्डष्ट्रीलाई बलियो बनाउँछु भन्ने सोचका साथ आउनुस् ।’

गीत रेकर्डिङसँगै देश/विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त गायिका माण्डवीले अन्त्यमा भन्छिन्, ‘म्युजिक फिल्डमै अझै केही राम्रो गरौँ भन्ने सोचका साथ अबका दिनमा पनि म्युजिककै लागि रहनेछु ।’
 

अन्तिम अपडेट: चैत २८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया