जनता आवास कार्यक्रम : घर बन्यो, अनुदान पुरै पाएनन्

 माघ २९, २०७५ मंगलबार १०:४८:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरेका नवलपरासीको विपन्न नागरिकले चौथों किस्ताको रकम अझै प्राप्त गर्न नसकेको बताएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा जनाता आवास कार्यक्रम अन्तर्गत नवलपुरमा  करिब ७७ वटा घर निर्माणको सम्झौता भएको थियो । तर घर निर्माण गरेका विपन्न नागरिकले अझै अन्तिम किस्ताको रकम नपाएको बताएका छन् ।

विं.सं २०७३ मा घर निर्माणको सम्झौता भएर घर निर्माण गरेको भए पनि अझै पनि आफूले पुरै रकम नपाएको कावासोती हरवासटारकी पम्फा सुनारले गुनासो गर्नुभयो । 

उहा“ले तीन किस्ता गरेर करिब रु एक लाख ८५ हजार रुपैंया बुझेको भए पनि बाँकी रकम भने पाउन नसकेको बताउनुभयो । अन्तिम किस्ता नपाउँदा पसलमा घर निर्माणका समयमा ल्याएको सामग्रीको रकम  भुक्तानी गर्न नसकेको उहाँले बताउनुभयो । ‘पैसा आउँछ भनेर पसलबाट उधारो सामान ल्याएर घर बनाइयो, अहिले तिर्न गाह्रो परेको छ’ सुनारले भन्नुभयो– हाम्रो पैसा किन रोकिएको हो भन्नेसम्म थाहा छैन ।

उहा“कै जस्तो गुनासो रहेको छ कावासोती –१६,  गैराटोल निवासी जेकबहादुर विश्वकर्माको । ‘घर त जसो तसो बनाइयो, पैसा भने पुरै अझै आएन ।’
 
जनता आवास कार्यक्रम अन्तर्गत उहा“ले टिनले छाएको पक्की दुई कोठे घर निर्माण गर्नुभएको छ ।  तीन किस्तासम्म सजिलै पाइएको भए पनि  अन्तिम किस्ता नपाउँदा उहाँलाई अब नपाइने होकि भन्ने चिन्ता लागेको छ ।

नवलपरासी  पूर्व र पश्चिम जनता आवास कार्यक्रमका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले  काम गर्ने जिम्मा पाएको थियो । जस अन्तर्गत आर्थिक वर्ष २०७३/०७४ मा नवलपरासीमा ८० वटा घर निर्माण गर्ने भनिएको भए पनि करिब ७७ वटाघर निर्माण प्रक्रियामा गएका थिए ।  जनता आवास कार्यक्रम अन्तर्गत सरकारले विपन्न नागरिको घर निर्माण गर्न करिब रु. दुई लाख २४ हजार दिने भए पनि नवलपरासीमा यसको ९० प्रतिशत रकम मात्र घर निर्माण गर्ने लाभग्राहीले पाएका छन् । बाँकि रकम भने पाउन सकेका छैनन् ।

‘केही महिना अघि  चितवन अफिसमा बुझ्न गएका थियौँ त्यहाँको सरले अन्तिम किस्ता अब गोरखाबाट पाउने भन्नुभयो’ जनता आवास कार्यक्रमबाट घर निर्माण गर्नुभएकी विष्णु माया परियारले भन्नुभयो – गोरखा यहा“बाट धेरै टाढा पर्छ हामि त्यहासम्म कसरी जाने अलपत्र परेका छौ । ’ बाँकी रकम लिन बुझ्न कति धाउनु पर्ने हो, धाउँदा – धाउँदै पाउने रकम भन्दा खर्च धेरै हुने हो की भन्ने चिन्ता उहा“लाई छ ।

नवलपरासीमा चितवन कार्यालयले जनता आवास कार्यक्रम हेर्ने भएको भए पनि अहिले नयाँ संरचना अनुसार नवलपरासी पूर्वमा गोरखाबाट हेर्ने हुँदा समस्या भएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय  गोरखाका इञ्जिनियर अजय श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार केही समय अघि मात्र सबै कागजातहरु गोरखाको कार्यालयमा लगिएको छ । कागजात गोरखास्थित कार्यालयमा नआउँदा ढिला हुन गएको उहाँले बताउनुभयो ।

‘अहिले नवलपुरका फाइलहरु भर्खर आएको छ, अब हामिले यसको बाँकी प्रक्रिया सुरु गर्छौँ’  इञ्जिनियर श्रेष्ठले भन्नुभयो । बजेटको अख्तियारी आर्थिक वर्षको सुुरुवातमा आउनुपर्ने भए पनि  पुस महिनामा मात्र आएकाले समस्या भएको उहाँले बताउनुभयो ।

नवलपरासी पश्चिममा रहेका लाभग्राहीले समेत पुरै रकम प्राप्त गर्न सकेका छैनन् ।  प्रदेश अन्तर्गत कार्यालय स्थापना भएकाले अन्तिम किस्ता रोकिएको हो । प्रदेश कार्यालय स्थापना भएपछि नवलपरासी पूर्वको फाइल गोरखा र पश्चिमको फाइल भैरहवामा लगिएको छ । नवलपरासी दुई जिल्लामा विभाजन भएकाले  छुट्टाछुट्टै फाइल छुट्टाछुट्टै जिल्लामा बुझाउनु पर्दासमेत काममा ढिलाई भएको कार्यालयले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत ५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया