महोत्तरीमा सुत्केरीको हत्या, पति र जेठानी पक्राउ

 माघ २९, २०७५ मंगलबार १३:५१:५१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरीको मनरासिसबा नगरपालिका–८ सहसराम निवासी मनोजकुमार महतोकी श्रीमती २१ वर्षीया धनमन्ती देवीको हत्या भएको हो ।

आइतबार बिहान धनमन्तीको हत्या गरेर हतार–हतार शव जलाउने तर्खरमा रहेको बेला माइती पक्षले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले धनमन्तीको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको थियो । मृतक धनमन्तीको घाँटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या नै गरेको माइती पक्षको दाबी छ ।

ससुराले सुरुमा बुहारी ओछ्यानमै आइतबार बिहान मृत फेला परेको माइतीपक्षलाई बताए पनि प्रहरीलाई भने पासो लगाएर धनमन्तीले आत्महत्या गरेको बयान दिएका छन् । धनमन्तीलाई घरपरिवारले दिँदै आएको यातना तथा धाकधम्कीले छोरीको हत्या भएको बुबा धनुषा जिल्ला बटेश्वर गाउँपालिका २ धुमासनका बद्री महतोको दाबी छ ।

मृतक धनमन्तीका पति मनोज

प्रहरीले शवलाई नियन्त्रणमा लिई जलेश्वर अस्पतालमा पोष्टमार्टम गराई सोमबार घरपरिवारलाई शव जिम्मा लगाएको छ । घटनाको विषयमा प्रहरीलाई जानकारी नगराई हतार–हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित २ जनालाई पक्राउ गरेको छ ।

‘धनमन्तीको घाँटी र पाखुरामा देखिएको निल डामले धनमन्तीको हत्या भएको हाम्रो आशंका छ । घटना शंकास्पद छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले भन्नुभयो ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र धनमन्तीको निधनको विषयमा वास्तविक कुरा खुल्ने छ ।’

घटना शंकास्पद रहेको भन्दै प्रहरीले धनमन्तीका पति मनोज र जेठानी अनिता देवीलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक खड्काले बताउनुभयो ।  माइती पक्षले छोरी धनमन्तीको हत्या गरेको भन्दै पति मनोज, जेठानी अनिता र ससुरा चलित्तर महतोविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएको छ ।

हत्या भएकी धनमन्तीको एक महिने छोरा छ । वि.स.२०७४ वैशाख ३ गते समाजिक परम्परा अनुसार महोत्तरीको मनरासिसबा नगरपालिका ८ सहसराम बस्ने चलित्तर महतोका छोरा मनोज र धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुर बस्ने बद्री महतोकी छोरी धनमन्तीको समाजिक परम्परा अनुसार विवाह भएको थियो ।

धनमन्ती र मनोजको विवाहकाे तस्बिर

माइतीपक्षले छोरीको सुखको लागि लागि ससुरापक्षको माग अनुसार अनुसार २ लाख पर्ने एक मोटरसाइकल, दुई लाख नगद,  दुई तोला सुनलगायत फर्निचर र अन्य सरसमान गरी ८ लाख बराबरको ससरसमान दाइजो दिएको बुबा बद्रीले बताउनुभयो ।

धनमन्तीकी भाउजु सीताका अनुसार धनमन्तीका पति मनोजले अब यस्तो श्रीमतीले घर नचल्ने भन्दै अर्को विवाह गर्ने धम्कीसमेत माइतीपक्षलाई पटक पटक दिने गरेका थिए । आफूहरुले केही दिनपछि धनमन्तीलाई माइत ल्याउँछौँ । अहिले सानो बच्चा छ । केयर गरेर राख्नस् भन्दै ज्वाइँ र नन्दलाई सम्झाउने गरेको बताउनुभयो। उहाँले भन्नुभयो ‘बच्चा एक महिना लागेपछि धनमन्तीलाई माइती ल्याउने तयारीमा हामी थियौं ।’ 

धनमन्तीको एक महिने छोरा

‘छोरीको खुसी र सुखको लागि गरिब भए पनि ऋण गरेर ८ लाख बराबरको दानदहेज दिएँ । बिहेमा १२ लाख रुपैयाँ खर्च गरे । छोरी विवाहको ऋण अहिले पनि झेल्दै छु’ बुबा बद्रीले भावकु हुँदै भन्नुभयो ‘तर छोरीलाई २ वर्ष पनि बाँच्न दिएनन् ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया