प्रदेशसभा नियमावली  संशोधन गर्न समिति गठन, संसदमै मर्यादाक्रमको आलोचना

 माघ २९, २०७५ मंगलबार १८:५४:५२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेशको नाम र राजधानी प्रदेशसभामा प्रवेश गराउन प्रदेशसभा सञ्चालन नियमावली संशोधनका लागि समिति बनाइएको छ ।  

प्रदेशको नाम र राजधानीको विषय लामो समयसम्म अल्झिएको अवस्थामा प्रदेशसभामा प्रवेश गराउनका लागि प्रदेशसभा सञ्चालन नियमावली संशोधन गर्न लागिएको हो ।

प्रदेशसभाको तेश्रो अधिवेशनको पाँचौँ बैठकमा  प्रदेशसभा नियमावली २०७४को नियम २०२ (३) बमोजिम नियमावली संशोधन मस्यौदा समिति गठन भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले  प्रस्ताव गरेको समितिलाई कांग्रेसका सांसद  शिवनारायण गन्गाईले समर्थन गर्नुभएको थियो ।

बैठकले मस्यौदा संशोधन समिति सर्वसम्मतले गठन गरेको छ । समितिले नियमावली संशोधन गरी प्रदेशसभामा प्रदेशको नाम र राजधानी तोक्ने विषयलाई प्रवेश गराउने बाटो खोल्ने छ । नियमावली संशोधन मस्यौदा समितिमा तुलसीप्रसाद न्यौपाने, कुसुम श्रेष्ठ, लक्ष्मण तिवारी, लीला सुब्बा, केदार कार्की, जयराम यादव र राजकुमार ओझा रहेका छन्  ।

समितिलाई प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । प्रतिवेदन पेश गरेपछि समिति स्वतः खारेज हुने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी गराउनु भएको थियो ।

समितिले नियमावलीको मस्यौदासहित सदनलाई बुझाएपछि  प्रदेशसभा सञ्चालन नियमावली संशोधन हुने त्यसैको आधारमा  नियमावलीका  उल्लेख भए अनुसारको निर्धारित समयसीमा भित्र प्रदेशको नाम र  स्थायी राजधानीको विषय टुङ्गिने आशा गरिएको छ ।

प्रदेशसभामा सरकारको जवाफ

प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय सरकारबाट मर्यादाको विषयलाई लिएर पटक–पटक भएको हेरफेरले एउटालाई सम्मान र अर्कोलाई मानमर्दन गरेको बताउनु भएको छ  । 

पछिल्लो पटक सार्वजनिक भएको मर्यादाक्रमले पनि सबैलाई असन्तुष्ट बनाएकोले सच्याइएको मर्यादाक्रममा पनि त्रुटि भएको उहाँले बताउनुभयो । सदनमा सांसदहरुले मर्यादाको सवालमा उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री कार्कीले मंगलबारको बैठकमा जवाफ दिँदै मर्यादाक्रम सचिए पनि त्रुटि कायमै रहेको बताउनुभयो ।  

मर्यादाको कुरा संघीय सरकारसँग जोडिएकोले प्रदेशले केही गर्न नसक्ने भए पनि संघले यस विषयलाई गम्भीर रुपमा लिनु पर्ने बताउनुभयो । ‘संघको कार्यक्षेत्रभित्र रहेकोले यसलाई सही ढंगले मर्यादा तोकिनु पर्छ’,  मन्त्री कार्कीले भन्नुभयो, कसैलाई पनि मान मर्दन गरिनु हुँदैन ।’

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया