सुतिरहेको कुकुरलाई प्रहरीको गाडीले किचेपछि स्थानीय आक्रोशित

 माघ २९, २०७५ मंगलबार १९:२३:२५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला प्रहरी कार्यालयको बा १ झ ७४४७ नम्बरको गाडीले देवकोटा चोकस्थित सडकमा सुतिरहेको कुकुरलाई किचेर मारेपछि स्थानीय आक्रोशित भएका छन् ।

मंगलबार दिउँसो देवकोटा चोकमा प्रहरीको गाडीले कुकुरलाई मारेपछि  स्थानीय नागरिक प्रहरीको व्यवहारवाट आक्रोशित बनेका हुन् । प्रहरीको गाडीले जानाजान कुकुरलाई किचेर मारेको भन्दै स्थानीय नागरिकले जिल्ला प्रहरी कार्यालयमा घटनाको बारेमा जानकारी गराएका थिए । 

स्थानीयवासीले प्रहरीको गाडी र त्यसका चालकको काम न्यायसंगत नभएको भन्दै दोषी चालकमाथि कारबाहीको माग गरेका थिए । घटनालाई नजिकबाट देखेका नेकपाका जिल्ला सचिव आनन्द श्रेष्ठले घटनालाई प्रहरीको ज्यादति भन्नुभएको  छ । 

प्रहरीको गाडीले जानाजान कुकुरलाई किचेर मारेर आफनो गैरजिम्मेवारपन छर्लङ्ग पारेको श्रेष्ठले बताउनुभयो । बाटोमै सुतेको भए पनि त्यसरी कुकुरलाई कुल्चिन नहुने उहाँले बताउनुभयो ।

स्थानीयहरु भेला हुन थालेपछि प्रहरी फेरि फर्केर आएको थियो । किचेकै गाडीले मरेको कुकुरलाई लगेको  थियो ।

स्थानीयवासीहरुको आक्रोश बढ्दै गएपछि प्रहरी निरीक्षक रविभुषण यादव घटनास्थल आइपुग्नु भएको थियो । घटनाले आफूलाई पनि दु:खी बनाएको भन्दै उहाँले गाडी चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया