कांग्रेस भातृ संगठनमा चरम विवाद : नेविसंघ धादिङमा तीन जना अध्यक्ष

 माघ २९, २०७५ मंगलबार २०:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ  – नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ धादिङको अधिवेशन स्थगित भएपछि तीन जनालाई अध्यक्षको नियुक्तिपत्र दिइएको छ । तीन जनालाई नेविसंघ धादिङको अध्यक्षमा नियुक्त गरेसँगै भाँडभैलो सुरु भएको छ । 

नेतृत्व चुन्न नसकेपछि माघ ७ र ८ गते भएको १४ औँ अधिवेशन विवादका बीच नेताहरुको दबाबमा स्थगित भएको थियो । तीन जनालाई नेविसंघको अध्यक्ष नियुक्त गरिएको छुट्टाछुट्टै पत्र दिएपछि अहिले विवाद चर्किएको हो । 

धादिङका लागि केन्द्रीय प्रतिनिधि एवं नेविसंघ केन्द्रीय सदस्य लक्ष्मणदत्त पन्थीले अध्यक्षका उम्मेद्वार भीम भट्टलाई माघ ९ गते नै अध्यक्षको जिम्मेवारी दिएको पत्र  दिएको सोमबार सार्वजनिक भएको हो ।

सोमबार नै पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका नेविसंघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षरमा गत माघ १९ गते अध्यक्षका अर्का प्रत्यासी सुवास विसुराललाई अध्यक्ष चयन गरिएको पत्र दिएको सार्वजनिक भएपछि विवाद सतहमा आएको थियो । 

यता मंगलबार श्रीराम खतिवडालाई प्रदेश ३ का संयोजक नेविसंघ केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीले जिल्ला अध्यक्ष चयन गरेको पत्र दिएको सार्वजनिक भएको छ । तीन जनाको नियुक्ति आएपछि जिल्लामा विद्यार्थीहरु विभाजित भएका हुन् 

नेविसंघका तीन जना नेतालाई नेतृत्वले जिम्मेवारी दिएकाे तीन अलग-अलग पत्रनेविसंघका केन्द्रीय नेताले आफू निकट नेतालाई अध्यक्ष चयनका लागि पत्र थमाएपछि विवाद चर्किएको हो ।

अधिवेशन उद्घाटन भएर नेतृत्व चयन प्रक्रिया सुरु भइसकेपछि जिल्ला अध्यक्ष बन्नको लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । अध्यक्षका आकांक्षी धेरै भएपछि चुनाव गराउने तयारी भइरहेका बेला धादिङ जिल्लाको पार्टी नेतृत्वले निर्वाचन प्रक्रिया स्थगित गराएको थियो । 

यसअघि नेपाली कांग्रेस भातृ संगठन प्रेस युनियनको अधिवेशन पनि नेतृत्वको दबाबपछि स्थगित गरिएको थियो । एक वर्ष अघि नेपाल तरुण दलको समेत जिल्ला अधिवेशन स्थगित भएपछि हालसम्म पनि समस्या समाधान भएको छैन । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया